एट्लेटिको म्याड्रिडको जित, सुवारेजले फेरि गरे गोल

एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा डि भिगोलाई २–० ले पराजित गरेको छ ।

एट्लेटिकोले सेल्टालाई उसकै मैदानमा पराजित गरेको हो । शनिबार राति भएको खेलको छैटौ मिनेटमा नै सुआरेजको गोलबाट एट्लेटिकोले खेलमा अग्रता लिएको थियो । कप्तान कोकीबाट डिएगो कोस्टा हुदै म्यानुयल सान्चेजको पासमा सुआरेजले गोल गर्न सफल भएका थिए ।

२४औं मिनेटमा सेल्टा बराबरीबाट चुक्यो । ओलाजाको फ्रिकिकमा सान्टी मिनाको प्रहारलाई एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले बचाए । लगत्तै सर्जियो क्यारेइराको प्रहार पोस्टमा लागेर फर्कियो । ४७औं मिनेटमा सुआरेज चुक्दा एट्लेटिकोले अग्रता दोब्बर पार्नबाट चुक्यो ।

त्यसपछि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल निस्कन सकेन । तर इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा यान्निका कारास्कोले गोल गर्दै एट्लेटिकोलाई २–० को जित दिलाए । जितसँगै एट्लेटिकोको ४ खेलबाट ८ अंक पुगेको छ । पराजित सेल्टाको ५ अंक छ ।