एजेन्सी, स्पेनिस ला लिगाको उपाधि होड खुला भएको छ ।
आइतबार राति शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड सेभियासँग १–० गोल अन्तरले पराजित भएपछि दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनाका लागि पनि उपाधि होड खुला भएको हो ।
२९ खेलबाट एट्लेटिकोको ६६ अंक छ ।
समान खेलबाट रियल मड्रिड ६३ अंकसहित दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ ।
एट्लेटिकोलाई हराएर चौथो स्थानको सेभियाले पनि तेस्रो स्थानको बार्सिलोनासँगको दूरी ४ अंकमा झारेको छ ।
घरेलु मैदानमा सेभियाका लागि ७० औं मिनेटमा मार्कस अकुनाले गरेको गोल नै निर्णायक बन्यो ।
त्यसअघि खेलको आठौं मिनेटमा सेभियाका लुकास ओकाम्पोसको पेनाल्टी एट्लेटिकोका जान ओब्लाकले बचाएका थिए ।
एट्लेटिकोका सउल निगुजले इभान राकिटिचमाथि फल गरेपछि सेभियाले पेनाल्टी पाएको थियो ।
ला लिगामा ९ खेल बाँकी हुँदा एट्लेटिको तीन अंकको अग्रतासहित शीर्ष स्थानमा छ ।
एक खेल कम खेलेको बार्सिलोनाले सोमबार राति १६ औं स्थानमा रहेको रियल भालाडोलिडसँग खेल्दैछ ।