एटलेटिको बाट इन्टरमा गए गोडिन

इटालियन क्लब इन्टर मिलानले पूर्व एटलेटिको मेड्रिडका कप्तान तथा चर्चित डिफेन्डर डिएगो गोडिनलाई तीन बर्षका लागि अनुबन्ध गरेको छ । एटलेटिको ९ सिजन बिताएका ३३ बर्षिय गोडिनले गत मईमा मेड्रिड छाड्ने घोषणा गरेका थिए ।

त्यसपछि यी उरुग्वेका स्टार डिफेन्डर इन्टर जाने हल्ला चलेको थियो । जसलाई क्लबले सोमबार आधिकारिक रुपमा पुष्टी गर्यो । स्मरणीय छ, जारी कोपा अमेरिकामा उरुग्वे प्रतियोगिताबाट बाहिरिएपछि गोडिनको इन्टर स्थानान्तरण थप छिटो भएको हो ।

सन् २०१० मा भिल्लारियलबाट एटलेटिकोमा आवद्ध भएका गोडिनले क्लबका लागि ३०० म्याच खेल्दै लिजेण्डरी छवि बनाएका थिए । एटलेटिकोमा रहँदा ला लिगा, कोपा डेल रे र दुई युरोपा लिग उपाधि जितेका गोडिनले च्याम्पियन्स लिगको दुई फाइनल समेत खेलेका थिए ।

गोडिन इन्टरमा आवद्ध भएपछि क्लबले थप सशक्त प्रदर्शन गर्ने अनुमान गरिएको छ । इन्टरले गत सिजन च्याम्पियन युभेन्टसभन्दा २१ अंक पछाडी रहँदै चौथो स्थानमा रहेर सिरि ए को समापन गरेको थियो । स्मरणीय छ, इन्टरले हालै पूर्व युभेन्टस र चेल्सीका म्यानेजर एन्टोनियो कोन्टेलाई पनि नयाँ म्यानेजरका रुपमा नियुक्त गरेको थियो ।