एएफसीबाट नेपालले १२ लाख डलर पाउने

नेपाललाई एसियाली फुटबल महासंघ (एएफसी) ले सन् २०१९÷२० का लागि १२ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा अघिल्लो साता सम्पन्न एएफसीको २८औं कंग्रेसले आफ्नो मातहतमा रहेका अन्य सदस्य राष्ट्रलाई प्रदान गर्दै आएको सहयोगमा समेत भारी वृद्धि गरेको हो । यसअघि एएफसीले आफ्ना सदस्य राष्ट्रको फुटबल विकासका लागि वार्षिक पाँचदेखि सात लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउँदै आएको थियो ।

एएफसीको नयाँ निर्णयअनुसार नेपालले आगामी चालु आर्थिक वर्षका लागि १२ लाख अमेरिकी डलर सहयोग पाउने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए । एएफसीको उक्त निर्णय एक वर्षका लागि हो । एएफसीले हालै मात्र नेपाललाई एन्फा कम्प्लेक्स मैदान परिसरमा एक लाख ५६ हजार अमेरिकी डलरबराबरको फलामको ‘मुभेबल’ प्यारापिट पनि उपलब्ध गराएको छ । एक हजार ६० सिट क्षमताको उक्त प्यारापिट एएफसी आफैंले ग्लोबल टेन्डर गरी एन्फामा राखिदिएको हो ।

सन् २०१९ मा एएफसीको चुनावी कंग्रेस हुने भएकाले नेतृत्वले मत प्रभाव पार्ने उद्देश्यले सदस्य राष्ट्रलाई खुसी तुल्याउन यस्तो निर्णय गरेको अनुमान गरिएको छ । तर, एन्फा प्रवक्ता राईले यो अनुमान निराधार भएको बताए । एएफसी कंग्रेसमा समेत भाग लिएर फर्किएका राईका अनुसार एएफसीको ‘रेभिन्यु’ बढेका कारण सदस्य राष्ट्रलाई दिइने सहयोग पनि बढेको हो ।

‘एएफसीले फु्टबल खेलको विकाससँगै भौतिक संरचना निर्माण, ग्रास रूप फुटबल विकास, प्रतियोगिता आयोजना, राष्ट्रिय टोलीको तयारी, अन्तर्राष्ट्रिय सहभागितालगायतका शीर्षक बढी रकम सहयोग गरेको हो । क्वालालम्पुरमा सम्पन्न एएफसीको २८औं कंग्रेसले सन् २०१९ अप्रिल ६ तारिखमा एएफसीको चुनावी कंग्रेस गर्ने निर्णय पनि लिएको छ ।

कंग्रेसमा सहभागीमध्ये एसियाका ४० देशले एएफसीको वर्तमान अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफालाई अर्को कार्यकालका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । एएफसीमा हाल ४७ देश सदस्य छन् । तीन महिनाअघि मात्र दक्षिण पूर्वी एसियाका केही देशको सक्रियतामा दक्षिण पूर्वी एसियन फुटबल महासंघ (स्वाफ) गठन भएको थियो ।

साउदी अरेबिया फुटबल संघका अध्यक्ष डा. अब्देल विन मोहमद एजादको अध्यक्षतामा गठित स्वाफमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा पनि कार्यकारी सदस्य पदमा चयन भएका थिए । भारतसहित दक्षिण एसियाली देश (साफ) फुटबल संघका पदाधिकारीले पनि स्वाफको सदस्यता लिएका थिए । त्यतिबेला स्वाफले पनि नेपाललाई वार्षिक पाँच लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

तर, एएफसी कंग्रेसमा स्वाफको चर्को आलोचना भएपछि नेपाललगायत साफका राष्ट्रले स्वाफमा नबस्ने निर्णय गरेका थिए । स्वाफ एएफसी र फिफाको आसन्न निर्वाचनलाई प्रभाव पार्न गठन गरिएको भन्दै त्यसलाई एएफसी र फिफाले नै मान्यता नदिएका कारण स्वतः रद्द गरिएको पनि एन्फाले जनाएको छ । स्वाफको सदस्यता त्यागेपछि सहयोग पनि स्वतः गुमेको बताइएको छ । नेपाललाई विश्व फुटबल महासंघबाट पनि अहिले वार्षिक २२ लाख ५० हजार अमेरिकी डलर सहयोग प्राप्त हुँदै आएको छ ।