उपाधि दौडमा फर्किए बार्सिलोना

एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे ।

यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक एक गोल गरे । हुयस्काका राफा मिरले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

                                                                              

३५ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बन्यो ।

पहिलो हाफको इन्जुरी समयमा राफाले पेनाल्टीमा गोल गर्दै हुयस्कालाई २-१ को स्थितिमा ल्याए । खेलको ५३ औं मिनेटमा ओस्कारले गोल गर्दै बार्सिलोनाको अग्रता ३-१ को बनाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ४-१ को जित दिलाए । यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि ७ सय ६७ औं खेलको कोशेढुंगा पूरा गरे ।

मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् । यस जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले २७ खेलमा ५९ अंक जोडेको छ । हुयस्का २० अंक जोडेर पुछारमा रहेको छ ।