ईपीएल व्यवस्थापनमाथि कप्तान पारसले उठाए प्रश्न

एभरेष्ट पि्रमियर लिग (ईपीएल)ले शनिबार ललितपुर प्याट्रिएटसलाई नयाँ च्याम्पियन पायो । भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरे टोलीले उपाधि उचालेको हो ।

आयोजकका अनुसार प्रतियोगिता भव्यताका साथ सम्पन्न भयो । तर, नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले व्यवस्थापन फितलो भएको टिप्पणी गरेका छन् ।
खड्का आफैं विराटनगर बारियर्सको कप्तान थिए, जसले गत सिजन उपाधि जितेको थियो ।

ईपीएल नेपालको नम्बर एक फ्रेन्चाइज लिग भएपनि आयोजकले व्यवस्थापन पक्षमा ध्यान नदिएको उनको गुनासो छ । ‘अन द फिल्ड एकदमै राम्रो भयो । उत्कृष्ट खेलाडीहरु ईपीएल खेल्न आए । सबैले राम्रो खेले’ फाइनल सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, अफ द फिल्ड एकदमै झुर भयो ।’

यतिधेरै सफलता हात पारेको प्रतियोगिताको पुरस्कार राशी पनि थोरै भएको उनले बताए । उपाधि विजेताले पाउने रकम कम भएको मात्र होयन, विभिन्न विधागततर्फ पनि पुरस्कार नभएको भन्दै उनले भने, ‘धेरै पैसा खर्च गरेर क्लबहरुले टिम तयार पारेका थिए । पुरस्कार राशी २५ लाख निकै थोरै भयो । प्लेयर अफ द सिरिजले एउटा बाइक पाए तर अन्य विधा राखिएन ।’

Via:- Onlinekhabar