ईन्डियालाई फाइनलमा हराउन मन छ – विमल

भारतलाई हराएर साफ च्याम्पियनसिपको उपाधि जित्ने चाहना भएको नेपाली स्ट्राइकर विमल घर्ती मगरले बताएका छन् ।
शनिबार बंगलादेशलाई हराउन पहिलो गोल गरेका विमलले खेलपछि भने, ‘भारतसंग फाइनलमा जितेर ट्रफी उठाउने चाहना छ ।’

बंगलादेशविरुद्ध विमलले पहिलो गोल गरेका थिए । विमलले आफ्नो व्यक्तिगत प्रदर्शन भन्दा बढी टिमको जितले खुसी भएको बताए ।
‘निकै राम्रो खेल्यौ आज । पहिलो खेल पनि हामीले राम्रो खेलेका थियौ तर नतिजा हाम्रो अनुकुल आउन सकेन तर हामीलाई आफुमा पुरा विश्वास थियो,’ विमलले थपे, ‘व्यक्तिगत किर्तिमान भन्दा टिमको नतिजामा खुसी छु ।’

बंगलादेशविरुद्ध पहिलो गोल गर्दा आफुले थाहै नपाएको बताउदै विमलले सेमिफाइनलमा माल्दिभ्स र फाइनलमा भारतलाई हराउने प्रष्ट पारे ।
‘सेमिमा माल्दिभ्स र फाइनलमा भारतलाई पराजित गर्दै ट्रफी उठाउने चाहना छ, सायद म मात्र हैन सारा नेपाल नै यो चाहन्छ,’ विमलले भने ।