इस्कोलाइ एपेन्डिक्स समस्या

स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर इस्को एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्ने भएपछि कम्तिमा एक महिना मैदानबाहिर रहने भएका छन् । स्वास्थ्य अवस्था केहि कमजोर रहेका उनले यसै साता शल्यक्रिया गर्ने भएका हुन् ।

गत साता च्याम्पियन्स लिगको पहिलो खेलमा रोमाविरुद्ध सुरुआती गोल गरेका इस्कोले जारी सिजन ६ खेलमा सहभागिता जनाइसकेका छन् । तर बुधबार सेभिल्लाविरुद्ध हुने ला लिगा खेलमा उनि सहभागी हुने छैनन् । क्लबले अहिले नै उनको फर्कने मिति घोषणा नगरेपनि उनलाई कम्तिमा ४ साता लाग्ने बुझिएको छ । उनले यसै साता शल्यक्रिया गर्ने क्लब स्रोतले बताएको छ ।

इस्को मैदानबाहिर रहने भएसँगै उनले स्पेनका दुई अन्तर्राष्ट्रिय खेल पनि गुमाउने भएका छन् । अक्टोबर दोस्रो साता तय दुई खेलमा उनि उपस्थित हुने छैनन् । स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्स र यूईएफए नेसन्स लिगको खेलमा इंग्ल्यान्डको सामना गर्ने कार्यक्रम तय रहेको छ । इस्कोले पछिल्लो समय स्पेनिस टोलीमा लगातार पहिलो रोजाइमा स्थान बनाउँदै आएका थिए । यसपटक टोलीमा उनी नहुँदा स्पेनको आक्रमणमा केहि समस्या हुने सम्भावना रहेको छ ।

रियलले उनलाई छिटो शल्यक्रिया गरेर अर्को महिना हुने बार्सिलोनाविरुद्ध एल क्लासिको खेलको लागि तयार हुन सुझाव दिएको छ । रियल र बार्सिलोनाको खेल अक्टोबर २८ तारिखमा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । जारी सिजन रियल र बार्सिलोनाले लिगमा अपराजित रहँदै सुखद यात्रा तय गरेका छन् । दुवै टोलीको शीर्ष स्थानमा समान अंक रहेपनि बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।