इरिक क्यान्टोनालाई चर्चित ‘युईएफए प्रेसिडेन्ट अवार्ड’

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका पूर्व फरवार्ड इरिक क्यान्टोनालाई सन् २०१९ को युईएफए प्रेसिडेन्ट अवार्ड दिइने भएको छ । फुटबल खेलको विकासमा दत्तचित्त भएर लागेको तथा परोपकारको काममा पनि सक्रिय रहेको कारण उनलाई चर्चित युईएफए प्रेसिडेन्ट अवार्ड दिन लागेको हो ।

५३ वर्षीय क्यान्टोनालाई बिहीबार मोनाकोमा हुने च्याम्पियन्स लिगको समूह चरण ड्रको अवसरमा उक्त अवार्ड दिन लागिएको हो।

उक्त अवार्डको बारेमा युईएफएका अध्यक्ष एलेक्सेन्डर चेफेरिन भनेका छन् ‘यो अवार्ड उनले खेलाडी जीवनमा दिएको योगदानको आधारमा मात्रै दिन लागिएको होइन । उनको व्यक्तित्व हेरेर पनि दिन लागिएको हो ।’

क्यान्टोनाले फुटबल च्यारिटीको लागि वार्षीक आम्दानीको १ प्रतिशत दिँदै आएका छन् । म्यान्चेस्टर युनाइटेडमा पाँच वर्ष रहँदा क्यान्टोनाले चारवटा प्रिमियर लिगको उपाधि जितेका थिए । त्यस्तै, १४३ खेल खेल्दा ६४ गोल पनि गरेका थिए।