इब्राहिमोविचले गरे क्रिष्टियानो रोनाल्डोको आलोचना

जाल्टन इब्राहिमोविचले क्रिष्टियानो रोनाल्डोको आलोचना गरेका छन् । इब्राहिमोविचले रोनाल्डो इटालियन सिरी ए क्लब युभेन्टसमा अनुबन्धित भएको विषयलाई लिएर आलोचना गरेका हुन् । रोनाल्डोले केही समयअघि लियोनल मेस्सीलाई बार्सिलोना छोडेर इटालियन क्लब आउन चुनौती दिएका थिए । रोनाल्डोले आफ्नो युभेन्टस यात्रा नयाँ चुनौतीको सामना गर्नका लागि भएको बताउने गरेका छन् ।

उनी यहि सिजन स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस आएका हुन् । तर जाल्टनले भने रोनाल्डोको युभेन्टस यात्रा कुनै चुनौती सामना गर्नका लागि नभएको बताएका छन् । रोनाल्डोले सबै कुरा जित्दै आएको क्लब रोजेर सजिलो बाटो छानेको जाल्टनको भनाई छ ।

जाल्टनले भने, ‘रोनाल्डोले भन्ने गरेका छन् कि उनले नयाँ चुनौतीको सामना गर्दै छन् । तर सिरी ए को उपाधि जित्नु सामान्य जस्तै भएको क्लबमा आउनु कसरी चुनौतीको सामना गर्नु भयो ?’

उनले अघि भनेका छन्, ‘रोनाल्डोले दुई वर्षअघि दोस्रो डिभिजनको क्लब किन रोजेनन् ? दोस्रो डिभिजनको क्लबमा गएर त्यसलाई च्याम्पियन बनाउनु र माथिल्लो स्तरको उपलब्धी हाँसिल गर्नका लागि लैजानु पो चुनौती ।’

उनले भनेका छन्, ‘युभेन्टसमा जानु कुनै पनि हिसाबमा चुनौती होइन ।’