इब्राहिमोभिचको शालिकमा फेरी पनि तोडफोड

स्विडेनको माल्मो रंगशाला अगाडि राखिएको स्टार फुटबलर ज्लाटन इब्राहिमोभिचको शालिकमाथि हुल्याहा समर्थकले रिस पोख्दै इब्राहिमोभिचको शालिकको नाक काटिदिएका छन् ।

३८ वर्षीय स्ट्राइकर इब्राहिमोभिचको शालिकको नाक कसले काट्यो भन्‍ने विषयमा स्थानीय प्रहरीले खोजी गरिरहेको छ । यसअघि पनि इब्राहिमोभिचको शालिकमाथि हुल्याहा समर्थकले दूर्व्यवहार गरेका थिए । इब्राहिमोभिचले आफ्नो चिर प्रतिद्वन्द्वी क्लब ह्यामरबीमा लगानी गर्ने समाचार सार्वजनिक भएपछि माल्मोका समर्थक उनीसँग रुष्ट बनेका छन् । त्यसैको रिस समर्थकहरुले इब्राहिमोभिचको शालिकमाथि पोख्दै आएका छन् ।

इब्राहिमोभिचले २० वर्षअघि माल्मोबाटै आफ्नो व्यवसायिक खेल जीवनको सुरुआत गरेका थिए । सन् १९९९ मा माल्मोमा आबद्ध भएका इब्राहिमोभिचले सन् २००१ सम्म त्यहाँबाट खेलेका थिए । माल्मोबाट ४० खेल खेल्दै उनले १६ गोल पनि गरेका थिए । त्यसपछि उनी डच क्लब आयाक्समा आबद्ध भएका थिए ।

आफ्नो उटपट्याङ र आक्रामक ब्यवहारका कारण मैदानमा सँधै चर्चित रहने इब्राहिमोभिच क्षमतावान खेलाडी पनि हुन् । उनले इटालियन क्लब युभेन्ट्स, इन्टर मिलान र एसी मिलानबाट पनि ब्यवसायिक फुटबल खेलेका छन् ।

यसैगरी उनले स्पेनिस क्लब बार्सिलोना, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट पनि ब्यवसायिक फुटबल खेलिसकेका छन् ।

यतिबेला उनी अमेरिकाको मेजर लिग सकर क्लब लस एन्जल्स ग्यालेक्सिमा आबद्ध छन् । उनले एलए ग्यालेक्सिका लागि ५६ खेल खेल्दै ५२ गोल गरिसकेका छन् । उनले यही सिजनदेखि एलए ग्यालेक्सी छाड्ने पनि निश्चित भइसकेको छ । पछिल्लो समय उनी नयाँ क्लबको खोजीमा छन् । उनले सन् २००१ देखि सन् २०१६ सम्म स्विडेनको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए । यसबीचमा उनले राष्ट्रिय टोलीका लागि एक सय १६ खेल खेल्दै ६२ गोल गरेका थिए ।

इब्राहिमोभिचको शालिक बनाउने कलाकार पिटर लिन्डेले कसैको पनि शालिकमाथि रिस पोख्नु अशोभनीय ब्यवहार भएको बताएका छन् । उनले समर्थकहरुसँग इब्राहिमोभिचको शालिकमाथि रिस नपोख्न पनि अनुरोध गरेका छन् । गत नोभेम्बरको २७ तारिखमा उनले म्यामरबीको २५ प्रतिशत सेयर खरिद गर्ने घोषणा गरेका थिए । त्यसपछि नै उनको पुरानो क्लब माल्मोका समर्थकरुष्ट बनेका हुन् ।

इब्राहिमोभिचले ह्यामरबीको सेयर खरिद गर्ने घोषणा गरेको दिन नै उनको शालिकमाथि रुष्ट समर्थकहरुले रङ पोतिदिएका थिए । त्यसपछि पनि रुष्ट समर्थकले पटक÷पटक उनको शालिकमाथि आफ्नो आक्रोश पोख्दै आएका छन् । गत अक्टोबलर ९ तारिखमा माल्मो रंगशाला अगाडि कांशबाट बनेको उनको ३.५ मिटर अग्लो शालिक अनावरण गरिएको थियो ।