इबरसंग रियल मड्रिडको लज्जास्पद हार

ला लिगा फुटबलमा रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ । शनिबार भएको खेलमा रियल इबरसंग ३ – ० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा इबरले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै रियललाई लज्जास्पद हार चखाएको हो ।

इबरलाई जित दिलाउन गोन्जालो स्कालान्सेटे, सेर्गी इन्रीच र किकेले एक एक गोल गरे । उपाधि दाबेदार मानिएको रियलविरुद्ध इबरले खेलको १६ औं मिनेटमा गोन्जालोको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ५२ औं मिनेटमा सेर्गीले गोल गर्दै इबरलाई २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ५७ औं मिनेटमा किकेले गोल गर्दै इबरलाई ३ – ० को महत्वपूर्ण जित दिलाए ।
जितसंगै इबर १८ अंक जोडेर लिगको सातौं स्थानमा उक्लिएको छ । रियल २० अंक जोडेर लिगको छैटौं स्थानमा छ ।

इबरसंगको हारसंगै रियलले शीर्ष टोलीविरुद्ध अंक दुरी छोट्याउने मौका गुमाएको छ । रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ४ तथा दोस्रो स्थानको सेभियाभन्दा ३ अंकले पछि छ ।