इन्टर मिलानको घरेलु मैदानमा रियल म्याड्रिडको रोमान्चक जित

रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को खेलमा इन्टर मिलानलाई पराजित गरेको छ । इन्टरको मैदानमा रियल म्याड्रिडले २-० को जित दर्ता गरेको हो ।

रियलले खेलको सातौं मिनेटमा नै इडेन हाजार्डको पेनाल्टी गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र निकोलो बरेलाले नाचो फर्नान्डेजलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । हाजार्डले गरेको प्रहारमा इन्टरका गोलरक्षक तथा कप्तान सामिर हान्डानोभिचले दिशा ठम्याएपनि बलसम्म पुग्न भने सकेनन् ।

अग्रता लिएको ५ मिनेटपछि नै रियल अग्रता दोब्बर पार्नबाट चुक्यो । लुका मोड्रीचको पासमा लुकास भाज्केजको प्रहार पोस्टमा लागेर फर्कंदा रियल १-० ले नै अगाडी रहेको थियो । लगत्तै फर्लान्ड मेन्डीले वन भर्सेस वनको अवस्थामा पनि क्रस दिँदा भाज्केजको प्रहार पोस्टतर्फ जान सकेन ।

२६ औं मिनेटमा इन्टरका फरवार्ड रोमेलु लुकाकुको फ्रिकिक पोस्टभन्दा माथिबाट गयो । २८ औं मिनेटमा हाजार्डको प्रहारलाई गोलरक्षक हान्डानोभिचले बचाए । ३१ औं मिनेटमा टोनी क्रुसको प्रहार आकसिंदा रियलले बलमा पकड जमाएपनि अग्रता बढाउन सकेन ।

३३ औं मिनेटमा आर्टुरो भिडालले रातो कार्ड प्राप्त गरेपछि इन्टर मिलान १० खेलाडीमा समेटियो । पेनाल्टी क्षेत्रभित्र राफेल भारानले सहि ट्याकल गरेपनि पेनाल्टी मागेका भिडाललाई रेफ्री एन्थोनी टेलरले अत्याधिक कराएपछि पहेंलो कार्ड देखाएका थिए । तर कार्ड देखाएलगत्तै रेफ्रीमाथि पुन: जंगिएपछि टेलरले दोस्रो पहेंलो कार्ड देखाउँदै उनलाई मैदानबाहिर पठाए ।

दोस्रो हाफको ५९ औं मिनेटमा रियलका लागि रोड्रीगोले दोस्रो गोल गरे । मैदान प्रवेश गरेको ३० सेकेन्ड नबित्दै उनले लुकास भाज्केजको क्रसमा पेनाल्टी क्षेत्र भित्रबाट भली प्रहार गर्दै अग्रता दोब्बर पारेका थिए ।

त्यसअघि समूहकै अर्को खेलमा बोरुसिया मोन्चेन ग्लाडबाकले शाख्तर डोनेस्कमाथि ४-० को फराकिलो जित दर्ता गर्यो । पहिलो हाफमा नै ३-० को अग्रता लिएको घरेलु टोलीका लागि लार्स स्टिन्डल, निको एलेभेदी र ब्रिल एम्बोलोले गोल गरेका थिए । दोस्रो हाफमा ओस्कार वेन्टले गोल गर्दै फराकिलो जित पक्का गरे ।

चौथो चरणको खेल सकिँदा मोन्चेनग्लाडबाक ४ खेलमा ८ अंकसहित शीर्षस्थानमा छ । रियल म्याड्रिड ४ खेलमा ७ अंक सहित दोस्रो स्थानमा तथा शाख्तर ४ अंकसहित तेस्रो स्थानमा छ । इन्टर मिलान २ अंकसहित पुछारमा रहेपनि अर्को चरणमा छनोट हुने झिनो सम्भावना बाँकी छ ।