इन्टर मिलानको जितमा लुकाकुले गरे डेब्यु खेलमै गोल

इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा पहिलो खेलमा विजयी सुरुवात गरेको छ। सोमबार राति भएको खेलमा इन्टर मिलानले लीसीलाई ४-० ले पराजित गरेको हो।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलान गएका रामेलु लुकाकुले सिरी ए डेब्यु खेलमा गोल गर्न सफल भएका छन्।

इन्टर मिलानको जितमा मार्सेलो ब्रोजोविक, स्टेफानो सेनसी र एन्टोनियो क्यानड्रेवाले गोल गरे। ब्रोजोविकले २१ औँ तथा सेनसीले २४ औँ मिनेटमा गोल गरेपछि इन्टर मिलानले पहिलो हाफमा २-० को अग्रता लियो । लुकाकुले ६० औँ मिनेटमा गोल गर्दै इन्टरको अग्रता ३/० मा दिलाए।

७६ औँ मिनेटमा फारिएसले सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लीसी १० खेलाडीमा सीमित भयो । ८४ औँ मिनेटमा क्यानड्रेभाले गोल गरेपछि इन्टर मिलानले ४-० को जित हात पारे।