इतिहास दोहोर्‍याउँदै म्यान्चेस्टर युनाइटेडले हरायो पिएसजीलाई उसैको घरमा

च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इंंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले गव वर्षको उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनलाई उसबै मैदानमा पराजित गरेको छ ।

युनाइटेडले पीएसजीमाथि उसकै मैदानमा २–१ को जित निकालेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कुस रासफोर्डले गोल गरे । पीएसजीले उपहार गोल पाएको थियो ।

पार्क डि प्रिन्सेसमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको ११औं मिनेटमा पीएसजीले पहिलो आक्रमण बुनेको थियो । एन्जल डि मारियाको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड हे गेयाले बचाए । १३औं मिनेटमा केलियन एमबाप्पेको प्रहारलाई गोलरक्षक गेयाले बचाए ।

२३औं मिनेटमा युनाइटेडले पेनाल्टीमार्फत गोल गर्दै खलमा १–० को अग्रता लिन सफल भयो । पेनाल्टी बक्समा एब्डोउ डियालोले एन्थोनी मार्सियललाई लडाएपछि प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसको प्रहारलाई पीएसजीका गोलरक्षक केलर नाभासले रोकेपनि लाइनभन्दा अघि बढेका कारण फर्नान्डेसले रि पेनाल्टीमा गोल गर्न सफल भएका थिए ।

३८औं मिनेटमा गोलरक्षक गेयाले रिलिज गरेको बललाई मार्सियल र फर्नान्डेसको समन्वय मिलेपनि नाभासले बचाउन सफल भए । ४८औं मिनेटमा एमबाप्पेको प्रहारमा गोलरक्षक गेया नै बाधक बन्दा पीएसजी बराबरीबाट चुक्यो । ५५औं मिनेटमा मार्सियलको आत्मघाती गोलबाट पीएसजीले खेललाई बराबरीमा ल्याएको थियो ।

नेयमारको कर्नरलाई हेडमार्फत बचाउन खोज्दा मार्सियलले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ८३आं मिनेटमा नेयमारको पेनाल्टी बक्स बाहिरको प्रहारलाई बचाउदा पीएसजी अग्रता लिनबाट चुक्यो । खेल सकिन तीन मिनेट बाँकी रहँदा माकर्सुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।

पल पोग्वाको पासमा रासफोर्डले पीएजसीको कमजोर डिफेन्सको फाइदा उठाउदै गरेको प्रहारलाई गोलरक्षक नाभासले डाइभ दिएर बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।