इटालियन मिड्फिल्डर भित्र्याउन युभेन्टस सफल

एजेन्सी, इटालियन क्लब सासुओलोका इटालियन मिड्फिल्डर मानुएल लोकाटेली भित्र्याउन अर्को इटालियन क्लब युभेन्टस सफल भएका छन्। रिपोर्टका अनुसार लोकाटेली २०२६ सम्मका लागि युभेन्टसमा अनुबन्ध हुनलागेका छन्।

रिपोर्टका अनुसार उनी दुई वर्ष सम्मका लागि युभेन्टसमा लोनमा अनुबन्ध हुनेछन् भने त्यसपछि उनी ३५ मिलियन युरोमा स्थायी रुपले युभेन्टसमा अनुबन्ध हुनेछन्। लोकाटेली भित्र्याउने युभेन्टसको मुख्य प्राथमिकता रहेको भनिएको थियो।
२३ वर्षका इटालियन मिड्फिल्डर लोकाटेलीले सासुओलोका लागि ९९ खेल खेल्नुका साथै ७ गोल गर्न सफल पनि भएका छन्। आफ्नो राष्ट्रिय टोलिका लागि भने उनले १५ खेल खेल्नुका साथै ३ गोल पनि गरेका छन्। उनलाई भित्र्याउने दौडमा युभेन्टसका साथसाथै इङलिस क्लब आर्सनल पनि रहेको भनिएको थियो।