इङ्ल्यान्ड बने नयाँ विश्वकप च्याम्पियन

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन इङ्ल्यान्ड बनेको छ। आइतबार सम्पन्न भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमार्फत पराजित गर्दै इङ्ल्यान्ड विश्वकप क्रिकेट २०१९ को च्याम्पियन बनेको हो। इङ्ल्यान्डले पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको हो।

टस जितेर पहिले ब्याटिङ गर्दै न्युजिल्याण्डले २४१ रनको सामान्य स्कोर बनायो। २४२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको इङल्याण्ड निर्धारित ५० ओभरमा १० विकेटको क्षतिमा बराबरी २४१ रन बनायो। ब्याटिङमा अविजित ८४ रनका साथ खेलिरहेका थिए, बेन स्टोक्स । अन्तिम बलमा जितका लागि २ रन चाँहिने अवस्थामा १ रनमात्र सम्भव भएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा उनै स्टोक्स र जोस बट्लरले बोल्टको बलिङमा १५ रन बनाए। न्युजिल्याण्डका तर्फबाट ब्याटिङमा मार्टिन गुप्तिल र जिम्मी निशाम आए। न्युजिल्याण्डले पनि १५ रननै जोड्न सफल भयो तर अन्तिम बलमा गुप्तिल एक रनसँगै रनआउट भए।

सुपर ओभरमा बराबरी भए पनि धेरै बाउंड्री हानेको आधारमा खेल इङ्ल्याण्डले जिते र पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जित्यो।