इङलिस फर्वार्ड भित्र्याउन म्यान्चेस्टर युनाइटेड इच्छुक

एजेन्सी, इङलिस क्लब एभर्टनका इङलिस फर्वाड डोमिनिक क्याल्भर्ट लेविन माथी अर्का इङलिस क्लब म्यान्चेस्टर युनाइटेडको नजर परेको छ। रिपोर्टका अनुसार युनाइटेड अर्का इङलिस स्टार खेलाडी ह्यारी केन पनि भित्र्याउन इच्छुक तर केनको मुल्य उच्च हुने भएकाले क्लबको नजर क्याल्भर्ट लेविन माथी परेको हो।

२४ वर्षका इङलिस खेलाडी क्याल्भर्ट लेविनले एभर्टनका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले गत सिजन सबै प्रतियोगिताहरुमा एभर्टनका लागि ३९ खेलमा २१ गोल गरेका थिए। उक्त २१ गोल मध्ये १६ गोल उनले प्रेमियर लिगमा गरेका थिए। उनको मूल्य करिब ५० मिलियन पाउन्ड रहेको आंकलन गरिएको छ।
उनी २०२५ सम्म एभर्टनमा अनुबन्धित छन्। उनले एभर्टनका लागि कुल १७३ खेलमा ५३ गोल गरेका छन्। उनी २०१६ मा करिब १.५ मिलियन पाउन्डमा एभर्टनमा अनुबन्धित भएका थिए।