इग्ल्यान्डले जर्मनीलाई हरायो, युक्रेन पनि क्वाटरफाइनलमा

एजेन्सी, मंगलबार राती भएको प्रि-क्वाटरफाइनलक खेलमा तीन पटकको च्याम्पियन जर्मनीलाई पाखा लगाउन इंग्ल्याण्डको जितमा रहिम स्ट्रलिङ र हेरी केनले एक एक गोल गरे ।

इंग्ल्याण्ड युरो कपको क्वाटरफाइनलमा पुगेको छ । पूर्व च्याम्पियन जर्मनीलाई दुई शुन्यले हराउँदै इंग्ल्याण्ड नौं बर्षपछि युरोकपको क्वाटरफाइनलमा पुगेको हो ।

वेम्लेमा भएको खेलमा तीन पटकको च्याम्पियन जर्मनीलाई पाखा लगाउन इंग्ल्याण्डको जितमा रहिम स्ट्रलिङ र हेरी केनले एक एक गोल गरे ।

पहिलो हाफमा दुबै टिमले दुई दुई वटा उत्कृष्ट मौका खेर फालेका थिए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७५ औं मिनेटमा इंग्ल्याण्डले अग्रता बनायो ।

उसका लागि रहिमले डिबक्समा पाएको मौकालाई सहजै सदुपयोग गर्दै गोल गर्न सफल भए ।

त्यसपछि जर्मनीका थोमस मुलरले गोलको उत्कृष्ट मौका पाउँदा सदुपयोग गर्न सकेनन् । तर ८५ औं मिनेटमा इंग्ल्याण्डले अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि कप्तान हेरी केनले उत्कृष्ट हेडर गोल गर्न सफल भए ।

त्यसपछि जर्मनी खेलमा फर्कन सकेन र इंग्ल्याण्ड् सन् २०१२ पछि युरोकपको क्वाटरफाइनलमा पुग्न सफल भयो ।

त्येस्तै अन्तिम खेलमा युक्रेनले स्विडेनलाई हराउदै क्वाटरफाइनलको यात्रा तय गरेको छ। युक्रेनले अतिरिक्त समयको पनि अन्तिम समयमा गोल गर्दै अन्तिम आठमा पुग्न सफल भयो ।

अलेक्जेन्डर जिनचेन्कोले २७ औं मिनेटमा गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए ।

४३ औं मिनेटमा स्वीडेनका इमिल फोक्सबर्गले बराबरी गोल गरेका थिए । दोस्रो हाफमा दुवै टिमबाट थप गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको झण्डै २० मिनेट भने स्वीडेन दश खेलाडीले खेलेको थियो ।

९९ औं मिनेटमा युक्रेनका आर्टेम बेसेदीनलाई फल गरेपछि मार्कस ड्यानीएल्सनले रातो कार्डको दर्शन गरेका थिए । उनी फललाई भीएआरको सहायतबाट पुष्टि गर्दै रातो कार्ड दिइएको थियो । त्यसपछि दबावमा आएको स्वीडेनमाथि युक्रेनले लगातार आक्रमण गरेको थियो ।

अतिरिक्त समयको पनि थप गरिएको पहिलो मिनेटमा युक्रेनले गोल गरेको थियो । आर्टेम डोभोबेकले गरेको गोल नै युक्रेनलाई युरो २०२० को क्वार्टरफाइनल पुर्‍याउन पर्याप्त भयो ।

युक्रेनले अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्याण्डसँग खेल्ने छ । मंगलबार राति नै भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरिसकेको छ ।