इग्ल्यान्डमाथि भारतको रोमाञ्चक जित

एजेन्सी , इंग्ल्याण्डविरुद्धको एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि पनि भारतले जितेको छ ।

टी २० र टेस्ट सिरिज पनि जितेको भारतले तीन वटै फरम्याटका उपाधि हात पार्न सफल भएको हो । आइतबार भएको एक दिवसीय क्रिकेटमा भारत ७ रनले विजयी भएपछि सिरिज २–१ अन्तरले विजयी हुन पुग्यो । अदिल रसिद र साम कुरानले अन्तिमसम्म प्रतिस्पर्धा गरेका थिए ।

भारतले दिएको ३२९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ३२२ रनमा रोकिन पुग्यो । विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डको शुरुवात भने राम्रो रहेन । इंग्ल्याण्डका लाजि जोशन रोय र जोनि वेरिस्टोले ओपनिङ गरेका थिए । १४ रन जोडेका रोय पहिलो विकेटका रुपमा आउट भएपछि इंग्ल्याण्डको विकेट पतको शुरुवात भएको थियो । टिमको स्कोर २८ रन भएका बेला वेरिस्टो पनि पभेलियन फर्किए ।

वेरिस्टोले एक रन मात्रै बनाए । ६८ रन भएका बेला इंग्ल्याण्डले तेस्रो विकेटको रुपमा बेन स्टोक्सलाई गुमाउन पुग्यो । स्टोक्सले ३९ बलमा ३५ रन बनाए । कप्तान जोस बटलर १५ रन बनाएर आउट भएका थिए । १५५ रन भएका बेला इंग्ल्याण्डले पाँचौं विकेट गुमायो । इंग्ल्याण्डका लियम लिभिङस्टोन ३६ रन बनाएर आउट भएका थिए ।

अर्धशतक बनाएका डेभिड मलान पनि ५० रनमा आउट भएपछि इंग्ल्याण्डको छैटौं विकेटको पतन भएको थियो ।
सातौं विकेटको रुपमा मोइन अलीलाई इंग्ल्याण्डले गुमाएको थियो । अलीले २९ रनको योगदान गरेका थिए ।
आदिल रसिद र साम कुराले ५७ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए ।

३९.२ ओभरमा इंग्ल्याण्डको २५७ रन भएका बेला रसिद १९ रन बनाएर आउट भए । ३११ रन भएका बेला मार्क वुड रिभ्यु लिएर जोगिएका थिए । ६ बलमा १४ रन चाहिएका बेला मार्क वुड रन आउट भएका थिए । वुड १४ रन बनाएर आउट भए । अन्तिमसम्म क्रिजमा रहेका साम कुरानले नटआउट ९६ रन बनाए पनि हार टार्न असफल रहे । भारतका लागि सार्दुल ठाकुरले चार विकेट लिँदा भुवनेश्वर कुमारले तीन विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरको १० बल बाँकी छदै सवै विकेट गुमाएर ३२९ रन बनाएको थियो । भारतका लागि ऋषभ पन्त, हार्दिक पाण्ड्या र शिखर धवनले अर्धशतकीय पारि खेलेका थिए ।

भारतका लागि रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लािग १०३ रनको साझेदारी गर्दै बलियो शुरुवात गरेका थिए ।
रोहित ३७ रन बनाएर आउट भएपछि साझेदारी तोडिएको थियो । रोहितले ३७ बल फेस गर्दा चार चौका प्रहार गरेका थिए । यस्तै ११७ रन पुगेका बेला अर्धशतकीय पारि खेलेका शिखर धवनलाई भारतले दोस्रो विकेटको रुपमा गुमाएको थियो । धवन ५६ बलमा १० चौकाको मद्दतले ६७ रन बनाएर पभेलियन फर्किएका थिए ।

लगत्तै कप्तान विराट कोहली व्यक्तिगत ७ रन बनाएर आउट भएपछि भारतले तेस्रो विकेट खेर फालेको थियो । चौथो विकेटको रुपमा केएल राहुल पनि सात रन जोडेर पभेलियन फर्किए । हार्दिक पाण्ड्या र ऋषभ पन्तले पाँचौं विकेटको रुपमा ९९ रनको साझेदारी गर्दै भारतलाई सम्मानजनक स्कोर तर्फ अघि बढाएका थिए । पाँचौं विकेटको रुपमा पन्त ७८ रन बनाएर आउट हुन पुगे । ६२ बल फेस गरेका ऋषभले पाँच चौका र चार छक्का प्रहार गरेका थिए । उनी आउट हुँदा भारत ५–२७६ को अवस्थामा रहेको थियो ।

छैटौं विकेटको रुपमा पाण्ड्या पनि ४४ बलमा ६४ रन बनाएर आउट भएका थिए । यस्तै सार्दुल ठाकुरले पनि ३० रनको आक्रामक पारि खेलेका थिए । सातौ विकेटको रुपमा ठाकुर आउट हुँदा भारतको स्कोर ३२१ रन पुगेको थियो ।

क्रुनाल पाण्ड्याले २५ रन बनाएर आउट हुँदा भुवनेश्वर कुमार ३ रनमा आउट भए पछि भारत ३२९ रनमा अलआउट हुन पुग्यो । भारतका टी नटराजनले एक बल पनि फेस गर्न पाएनन् । इंग्ल्याण्डका मार्क वुडले तीन विकेट लिँदा आदिल रसिदले दुई विकेट हात पारे ।