इंग्ल्यान्डको स्पेन माथि उत्कृष्ट जित

युएईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले स्पेनलाई हराएको छ । सोमबार राति भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३ -२ ले हराएको हो ।

दुई युवा खेलाडी रहिम स्टर्लिङ र मार्कुस राष्फोर्ड चम्कदा इंग्ल्यान्डले स्पेनलाई उसैको मैदानमा स्तब्ध बनाएको हो । स्टर्लिङले दुई गोल गर्दा र राष्फोर्डले एक गोल गरे । स्पेनका फ्रान्सिस्को अल्कासर र कप्तान सर्जियो रामोसले एक एक गोल फर्काए ।

बलियो टोली स्पेनविरुद्ध इंग्ल्यान्डले पहिलो हाफमै ३ गोल गरेको थियो । खेलको १६ औं मिनेटमा स्टर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए । ३० औं मिनेटमा राष्फोर्डले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । ३८ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा इंग्ल्यान्ड ३ – ० ले अघि रह्यो ।

दोस्रो हाफमा स्पेन खेलमा फर्कने कोशिस गर्यो । तर, सफल भएनन् । खेलको ५८ औं मिनेटमा स्पेनका अल्कासरले गोल गर्दै खेल ३-१ मा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा कप्तान रामोसले एक गोल गरेपनि स्पेन ३ – २ ले स्तब्ध भयो ।

जितसंगै लिग ‘ए’ समूह ४ मा रहेको इंग्ल्यान्डले ३ खेलबाट ४ अंक जोडेको छ । र, इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा छ ।पराजित स्पेन ६ अंक जोडेर शीर्ष स्थानमा छ । यस समूहमा क्रोएसिया १ अंक जोडेर अन्तिममा छ ।