इंग्ल्यान्डको फराकिलो जित

इंग्ल्यान्डले आयरल्यान्डमाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले आयरल्यान्डमाथि ३–० को सहज जित हात पारेको हो ।

इंग्ल्यान्डको सहज जितमा ह्यारी मिगुएर, जाडोन सान्चो र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । वेम्वली स्टेडियममा बिहीबार राति भएको खेलको छैटौ मिनेटमा ह्यारी मिङ्स चुक्दा इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । त्यसमै प्राप्त अवसरमा जाडोन सान्चो पनि चुके ।

१८औं मिनेटमा ह्यारी विङ्सको पासमा ह्यारी मिगुएरले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । ३१औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे । उनले ज्याक ग्रेयलिसको पासलाई सदुपयोग गरेका थिए ।

५६औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डको जित पक्का गरे । साइरस क्रिस्टिले पेनाल्टी बक्समा बुकायो साकालाई लडाएपछिको प्राप्त पेनाल्टीमा लेविन चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्डको सहज जित सम्भव भयो । आयरल्यान्डले कुनै पनि समय घरेलु टोलीको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।

अब इंग्ल्यान्डले नेसन्स लिगमा बेल्जियम र आइसल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । लिग ‘ए’ २ मा इंग्ल्यान्ड ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बेल्जियमको ९ तथा डेनमार्कको ७ अंक छ । आइसल्यान्ड अंकविहीन छ । यस्तै आयरल्यान्डले वेल्स र बुल्गेरियासँग खेल्दैछ ।