इंग्ल्याण्ड र नेपालबीच मैत्रीपूर्ण फुटबल स्थगित

कोरोना भाइरसका कारण इंग्ल्याण्ड र नेपालबीच लन्डनमा तय भएको मैत्रीपूर्ण खेल स्थगित भएको छ । इंग्ल्याण्ड फुटबल एसोसिएसनले एन्फालाई मंगलबार एक पत्र पठाउँदै खेल स्थगनबारे जानकारी दिएको हो ।

फुटबल एसोसिएसन, हेड अफ दि नेसनल लिग सिस्टम लरेन्स सी जोन्सले बेलायत सरकार, फिफा र युनियन अफ युरोपियन फुटबल एसोसिएसन जस्तानिकायको सल्लाह बमोजिम खेल स्थगित गरिएको पत्रमा उल्लेख गरेका छन् ।

सरकारले भीडभाड गर्न रोक, खेलमा आपत्कालीन सेवा कटौती, जमघट नगर्न सल्लाहबीच इंग्ल्याण्डका सबै फुटबल खेल पनि स्थगित भएको जनाउँदै लरेन्सले खेल सुचारु गर्न नसकिने पत्रमा प्रष्टयाएका छन् । तर, यो स्थगनले बेलायत, नेपाल र स्थानीय समुदायबीचको मैत्रीपूर्ण सम्बन्ध एवं सहकार्यमा असर नगर्ने पनि उल्लेख छ ।

बेलायत नेपाल कुटनीतिक सम्बन्धको करिब २०४ वर्षको इतिहासमा पहिलोपटक आउँदो २५ मे, २०२० मा इंग्ल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिमबीच खेल तय थियो । अल्डरसट टाउन फुटबल क्लवमा हुने खेलका लागि एन्फा र एफएले तयारी गरिरहेका थिए । खेल सफल बनाउन लन्डनस्थित नेपाली दूतावास र सहारा यूकेको पनि समन्वय थियो ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरनले कोरोना भाइरसको महामारी नियन्त्रणमा आएपछि पुनः खेल तालिका सार्वजनिक गरिने बताए । ‘हामीले अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै मेसम्म तय भएका अरु पनि कार्यक्रम रद्द गरेका छौं’, आरनले कान्तिपुरसँग भने ।

यो वर्ष बेलायती भूमिमा नेपाली राष्ट्रिय फुटबल टिम र अर्को वर्ष सन् २०२१ मा इंग्लिस फुटबल टोलीले नेपाल गएर खेल्ने सम्झौता भएको थियो । बेलायत नेपाल कुटनीतिक सम्बन्ध भए यता अन्य हरेक‘डेलिगेसन’ भए पनि फुटबल खेलाडी अहिलेसम्म आएका छैनन् । यसअघि ‘दि होम अफ क्रिकेट’ भनिने लन्डनस्थित लर्डस्मा नेपाली क्रिकेट टिम दुई पटक आएर एमसीसी र नेदरल्यान्ड्सबीच टी टवान्टी त्रिकोणात्मक खेल खेलिसकेको छ ।

नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी उक्त मैत्रीपूर्ण खेलले जनता जनताबीचको सम्बन्ध विस्तार, बेलायतका नेपालीबीच एकता एवं दुई देशको सम्बन्ध थप सुदृढीकरण र पर्यटन प्रवर्धन गर्ने विश्वास व्यक्त गर्छन् ।

खेल घोषणाका बेला इंग्ल्याण्ड फुटबल एसोसिएसनको न्याशनल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले नेपाली फुटबल टोलीले वेम्ली स्टेडियम भ्रमण गर्ने, नेपाली दूतावासले सो टोलीको सम्मानमा विशेष स्वागत समारोह आयोजना गर्ने तथा उक्त भ्रमणलाई फुटबल तथा नेपाली संस्कृतिको महोत्सवको रुपमा मनाइने बताएका थिए ।

इंग्ल्याण्ड फुटबल एसोसिएसनले नेपालमा फुटबल विकासमा सघाउन एन्फालाई प्राविधिक सहयोग तथा परामर्श दिने बताउंदै आएको छ

@Kantipur

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ