इंग्ल्याण्डलाई हराउदै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा प्रवेश

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा अष्ट्रेलिया प्रवेश गरेको छ । मंगलबार भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दै पाँच पटकको च्याम्पियन अष्ट्रेलिया दुई खेल अगाबै सेमिफाइनलमा पुगेको हो ।

लर्ड्स क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २८६ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४४ ओभर ४ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले ८९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोनी बैस्टोले २७, क्रिस वोक्सले २६ तथा जोश बट्लर र रशिद आदीलले समान २५/२५ रन बनाए ।

इंग्ल्याण्डलाई सस्तैमा अष्ट्रेलियाका लागि जासन पाउल बिहेर्नड्रोफले ४४ रन खर्चेर ५ विकेट लिए । यस्तै मिचेल स्टार्कले ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले १०० रनको शतकीय इनिङ्स खेले । ११६ बलमा फिन्चले ११ चौका र २ छक्का प्रहार गरे । फिन्चको यो जारी विश्वकपमा दोस्रो शतक हो ।

यस्तै डेभिड वार्नरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै एलेक्स केरी र स्टेभेन स्मिथले ३८/३८ रन बनाए ।
इंग्ल्याण्डका लागि क्रिस वोक्सले २ विकेट लिए । यस्तै जोफ्रा आर्चर, मार्क वुड, बेन स्टोक्स र मोइन अलीले एक एक विकेट लिए ।

घरेलु टोलीलाई हराएसंगै अष्ट्रेलिया जारी विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ । अष्ट्रेलियाले ७ खेलबाट १२ अंक जोडेको छ । र, अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

पराजित इंग्ल्याण्ड ७ खेलबाट ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । इंग्ल्याण्डको पनि शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ ।