इंग्लिस प्रमियर लिगमा भार प्रयोग हुने

आगामी सिजनबाट इंग्लिस प्रमियर लिग (इपिएल)मा पनि भिडियो एसिस्टेन्ट रेफ्री (भार) प्रयोग हुने भएको छ । शुक्रबार भएको क्लबका शेयरधनीहरुको बैठकमा यो सिजनको सुरुबाट गरिएको भारको परिक्षण प्रयोगको नतिजाबारे सबै क्लबलाई जानकारी गराउँदै आगमी सिजनबाट भार प्रयोग गरिने निर्णय भएको हो । भार प्रयोग गर्ने निर्णय भएसँगै इपिएलले अन्तर्राष्ट्रिय फुटबल संगठन बोर्ड र फिफासँग सन् २०१९/२० को सिजनबाट भार प्रयोग गर्न अनुमतिका लागि औपचारिक अनुरोध गर्दै पत्राचार गर्नेछ ।

‘इपिएलका क्लबहरुले सन् २०१९/२० को सिजनबाट भिडियो एसिस्टेन्ट रेफ्री (भार) प्रयोग गर्ने प्रस्तावमा सहमति जनाएका छन्’, इपिएलको आधिकारिक वेबसाइटमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

शुक्रबार भएको क्लब शेयरधनीहरुको बैठकमा क्लबहरुलाई यो सिजनको सुरुबाट गरिएको भारको अफलाइन परिक्षण प्रयोगको नतिजाबारे जनाकारी गराइएको विज्ञप्तीमा लेखिएको छ । एफए कप र काराबाओ कपका साथै अन्य लिग र प्रतियोगितामा गरिएको भारको प्रयोगका बारेमा पनि विस्तृत रुपमा शेयरधनीहरुको बैठकमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

‘इपिएलमा अहिले लाइभ नगरी अफलाइनमा गरिएको भारको परिक्षण प्रयोग यो सिजनभर जारी रहने छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘शनिबार एकैपटक धेरैवटा खेल हुनेभएकाले सो दिन विशेष चनाखो भएर भारको प्रयोग गरी भार प्रयोगको प्रोटोकल बनाइने छ ।’