आफ्नो युवा स्टारको मूल्य £९४० मिलियन राख्दै रियल म्याड्रिड

रियल म्याड्रिड आफ्नो युवा स्टार भिनिसियस जुनियर सँग सम्झौता विस्तार गर्ने तयारीमा रहेको छ र उक्त उनको सम्झौता अनुसार उनको रिलिज क्लज £९४० मिलियन राख्ने रियलको तयारी छ।

२१ वर्षीय स्टारको प्रदर्शन यो सिजन कार्लो एन्सेलोटीका नेतृत्वमा निकै उत्कृष्ट रहेको छ १६ खेलमा ९ गोल गर्दै उनी हाल रियलको लागि एक महत्त्वपूर्ण खेलाडीको रुपमा स्थापित हुँदै छन्। रियल सँग उनको हालको सम्झौता २०२५ सम्म रहे पनि उनी सँगको सम्झौता सुधार गर्न र अन्य क्लबलाई उनिबाट टाढा राख्न रियल हतारमा रहेको छ।

हाल खबर अनुसार नयाँ सम्झौतामा उनको रिलिज क्लज £९४० मिलियन राख्ने रियलको योजना छ। रिलिज क्लज खेलाडीको सम्झौतामा हुने एक सर्त हो र उक्त सर्तमा  सहमत भएको मूल्य कुनै क्लबले तिर्न सके खेलाडीलाई क्लब छोड्नबाट कसैले रोक्न सक्दैन। सबै खेलाडीहरूको रिलिज क्लज मूल्य हुन्छ र उक्त रिलिज क्लजले खेलाडीलाई क्लब सँग सम्झौता बाँकी रहेको बेला पनि क्लब छोड्ने अनुमति दिन्छ।

रियलको चिर प्रतिद्वन्द्वी बार्साले पनि आफ्नो नयाँ नम्बर १० फातीलाई युरोपको अन्य क्लबहरूबाट टाढा राख्न नयाँ सम्झौतामा रिलिज क्लज €१ बिलियन राखेको थियो भने रियलले पनि आफ्नो स्टार स्ट्राइकर बेन्जेमाको रिलिज क्लज १ बिलियन राखेको थियो ।