आफ्नो तलब घटाएर भए पनि मेस्सी बार्सिलोनामै खेल्ने

फ्री एजेन्ट रहेका लियोनेल मेस्सी बार्सिलोनामै रहने भएका छन् र आर्थिक समस्यामा रहेको बार्सामा खेल्न उनले आफ्नो तलब घटाउन स्वीकार गरेका छन्।

ला लिगा क्लब बार्सिलोनाका सुपरस्टार मेस्सीको बारे धेरै चर्चा हुँदै गरेको छ बार्सा सँग उनको सम्झौता अन्त्य भए पछि उनी फ्री एजेन्ट बनेका थिए भने उनले क्लब छोड्ने धेरै हल्ला हुँदै गर्दा पहिलेको भन्दा आधा तलबमा उनी बार्सामै खेल्न सहमत भएका छन्। हाल खबर अनुसार उनले बार्सा सँग सन् २०२६ को अन्त्यसम्मको लागि सम्झौता गरेका छन्।

तर यो घोषणाको कार्यान्वयनका लागि बार्सिलोनाले मेस्सीको तलब जुटाउन केही खेलाडीहरूले क्लब छोड्नुपर्ने हुन्छ।

जुन ३० मा उनको वार्षिक तलब १२ करोड ३० लाख पाउन्ड भनिएको सम्झौता समाप्त भएपछि उनी क्लबविहीन भएका थिए।

आर्जेन्टिनाका लागि कोपा अमेरिका २०२१ जिताएपछि उनी अहिले बिदामा छन् र सम्झौताका प्रावधानहरूलाई अन्तिम रूप दिन बाँकी नै छ। नयाँ अध्यक्ष जोन लापोर्टाले मेस्सीसँग सम्झौता गर्नु आफ्नो प्रमुख लक्ष्य भएको बताएका थिए।