आज ६ खेल हुँदै, ब्राजिल र उरुग्वे पनि भिड्दै

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज जम्मा ६ खेल हुँदैछन् । अघिल्लो दिन जम्मा ९ खेल भएकोमा आज ६ खेल हुन लागेका हुन् । आज ६ खेल हुँदा सबैभन्दा धेरै चर्चा र आकर्षणको खेलमा मध्यराति दुई पूर्वविश्वविजेता पनि भिड्दैछन् । सो खेलमा ब्राजिल र उरुग्वे आमनेसामने हुनेछन् ।

ब्राजिल सुपरस्टार नेइमारको टोली हो भने उरुग्वे लुइस स्वारेज र इडिसन काभानीको टोली हो । रसिया विश्वकपमा ब्राजिल अन्तिम १६ बाटै बाहिरिएको थियो भने उरुग्वे अन्तिम आठबाट बाहिरिएको थियो । दक्षिण अमेरिकी क्षेत्रका दुई परिचित टोली खेल्दा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । खेल ब्राजिलको घरमा हुनेछ ।

आज हुने पहिलो खेलमा अपराह्न ४ः१५ बजेबाट जापान र भेनेज्वेला भिड्नेछन् । त्यसपछि साँझ ६ः४५ बजेबाट प्यालेस्टाइन र पाकिस्तानको खेल हुनेछ भने अर्को खेलमा ६ः४५ बजेबाटै साउदी अरेबिया र यमन भिड्नेछन् ।

त्यसैगरी, राति ८ः१० बजेबाट युएई र बोलिभियाको खेल हुनेछ । अर्को खेलमा ओमन र सिरिया ८ः१५ बजेबाट खेल्दा आज हुने अन्तिम खेलमा ब्राजिल र उरुग्वे भिड्नेछन् । यो खेल राति १ः४५ बजेबाट हुनेछ ।