आज रियल मड्रिड र बिल्बाओ भिडदै, रोनाल्डो खेल्ने – खेल कति बजे ?

स्पेनिस ला लिगामा आज राति हुने लिगको ३३औं हप्ताको खेलका लागि रियल मड्रिडको प्रारम्भिक टिम घोषणा भएको छ । जसमा अघिललो खेलमा आराम दिइएका स्टार क्रिस्टियानो रोनाल्डोलगायत खेलाडीलाई टिममा फर्काइएको छ ।

त्यस्तै, अन्य स्टारद्वय ग्यारेथ बेल र करिम बेन्जिमा पनि प्रारम्भिक टिममा परेका छन् । रियलको घर सान्टियागो बेर्नाबेउमा हुने यस खेलमा आज प्रशिक्षक जिनेदिन जिदानले प्रमुख खेलाडी उतार्ने तयारी गरेका छन् ।

त्यसमा पनि लामो समयपछि आज ‘बिबिसी’ भनेर चिनिने रोनाल्डो, बेल र बेन्जिमाको सेट एकसाथ मैदान उत्रिने सम्भावना रहेको छ । खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै उनले मंगलबार बिल्बाओविरुद्ध गम्भीरतापूर्वक खेल्ने बताएका थिए ।

त्यस्तै, यस खेलमा अघिल्लो खेलमा आराम दिइएका डिफेन्डर राफेल भारानेसहित कप्तान सर्जियो रामोस, ड्यानी कार्भाहाल, मार्सेलो र थियो पनि टिममा परेका छन् ।
मिडफिल्डमा टोनी क्रुस, लुका मोड्रिक, कासेमिरो, एसेन्सियो, इस्को र कोभसिचले पनि स्थान बनाएका छन् ।
खेल आज राति नेपाली समयअनुसार (बिहीबार बिहान) १ः१५ बजेबाट सुरु हुनेछ ।