आज राती बार्सेलोना र रियल म्याड्रड (एल क्लासिको) भिड्दै

ला लिगा फुटबलमा बहुप्रतीक्षित खेल एल क्लासिको आज हुँदैछ ।

यो सिजन बार्सिलोनाले रियलसँग दोस्रोपटक भेट हुनुअगावै ला लिगाको उपाधि आफ्नो पोल्टामा पारिसकेको छ । उसले लिगको ३४औं हप्ताको खेलमा डेपोर्टिभो ला केरुनालाई हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको थियो । तसर्थ, आजको खेलको हार–जितले अंक तालिकामा दुई टोलीलाई खासै फरक भने पार्ने छैन ।

तसर्थ, आज बार्सिलोनाका लागि यो खेल केवल प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । त्यो यस अर्थमा कि, आज बार्सिलोना रियललाई हराएर जारी सिजनको अपराजित यात्रालाई कायमै राख्न चाहन्छ । र, त्यसलाई अन्ततः नहारी सिजन सिध्याउने विन्दुसम्म पुर्याउन चाहन्छ ।

यता, रियल भने आज लिग विजेता टोली बार्सिलोनालाई हराएर गत डिसेम्बर २३ मा आफ्नो घरमा भोगेको ३–० को नमिठो हाराको बदला मात्रै लिन चाहँदैन, ऊ यो सिजन लिगमा अपराजित रहेको बार्सिलोनाको यात्रालाई पनि आफ्नो हातबाट पूर्णविराम दिन चाहन्छ ।

गत डिसेम्बर २३ मा रियलको घर सान्टियागो बेर्नाबेउमा भएको खेलमा बार्सिलोनाले रियललाई ३–० ले स्तब्ध बनाएको थियो । त्यसपछि दोस्रो लेग आज राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुँदैछ ।

आजको खेलमा रियलका स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका स्टार लिओनल मेस्सी मुख्य आकर्षण हुनेछन् । इएल क्लासिकोमा सधैं चर्चा र केन्द्रमा रहने यी स्टारको बीचको प्रतिस्पर्धाका रूपमा लिइने आजको खेललाई पनि सोही कोणबाट हेरिएको छ ।

यो सिजन बार्सिलोनाका मेस्सी ला लिगामा उच्च लयमा छन् । उनले हालसम्म लिगमा कूल ३२ गोल गरिसकेका छन् । यता, रियलका रोनाल्डोले यो सिजन मेस्सीको भन्दा आधा दर्जन कम खेल खेलेका छन् । उनले कूल २४ गोल गरेका छन् ।
हाल बार्सिलोना लिगमा ३४ खेलबाट ८६ अंकसहित लिगको सिरानमा रहेको छ । ऊ एक खेल बढी खेलको दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ११ अंकले अघि रहेको छ ।

त्यस्तै, बार्सिलोना तेस्रो स्थानको रियल मड्रिडभन्दा समान खेलबाट १५ अंकले अघि रहेको छ । यो सिजन बार्सिलोनाले ३४ खेलमा कुनै खेल नहारी २६ खेल जितेको छ भने ८ खेलमा बरबरी गरेको छ ।

यता, रियलले भने ३४ खेलमा २१ खेल मात्रै जितेको छ । उसले ८ खेल बराबरी गरेको छ भने ५ खेल हारेको छ ।
खेल नेपाली समयअनुसार आज राति (सोमबार बिहान) १२ः३० बजेटबास सुरु हुनेछ ।

Via: Mirrors Nepal