आज म्यानचेस्टर डर्बी !

प्रिमियर लिग अन्तर्गतका दुई म्यानचेस्टर क्लब, युनाइटेड र सिटी आज भिड्दै छन्। घरेलु मैदानमा हुने खेलमा सिटीलाई प्रिमियर लिगको २६ वर्षीय इतिहासमा नँया किर्तिमान बनाउने अवसर मिलेको छ।

 

म्यानचेस्टर युनाइटेडलाई पराजित गरेमा सिटीले ६ खेल अघि लिगको उपाधि जित्नेछ, जुन आफैमा किर्तिमान हो। च्याम्पियन्स लिगको क्वाटर फाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुलको घरेलु मैदानमा ३-० ले पछि परेको सिटी यसअघिको खेलहरुमा भने राम्रो लयमा थियो। ३१ खेलमा ८४ अंक रहेको सिटीको शिर्षस्थानमा राम्रो पकड छ। त्यस्तै युनाइटेडको भने दोस्रो स्थानमा ३१ खेलमा ६८ अंक छ। तेस्रो स्थानको लिभरपुलको ३२ खेलमा ६६ अंक छ।

सिटीले ३ दिन पछि पुन: दोस्रो लेगमा लिभरपुलको सामना गर्नुपर्ने भएकाले प्रशिक्षक पेप ग्वार्डिओलालाई यस खेलमा खेलाडी छनोट गर्न भने समस्या हुनेछ।
म्यानचेस्टर युनाइटेड भने प्रिमियर लिग अन्तर्गत सिटीको घरेलु मैदानमा भएको अघिल्लो दुई खेलमा अपराजित छ। दुई टोलीबीच भएको ४१ खेलमा ८ बराबरी भएको छ भने सिटीले १३ तथा युनाइटेडले २० खेलमा जित हात पारेको छ।

खेल नेपाली समय अनुसार रातीको १०:१५ मा सुरु हुनेछ।