आज ब्राजिल र पेरु कोपा अमेरिकाको फाइनलमा भिड्दै; पुरा जानकारी

कोपा अमेरिका २०१९ को उपाधि भिडन्तमा घरेलु टोली ब्राजिल र पेरु भिड्दैछन् । प्रतियोगितामा अपराजित रहेको ब्राजिल उपाधिको बलियो दाबेदार समेत हो ।

यी दुई टोलीले पछिल्लो पटक यसै प्रतियोगिताको समूह चरणमा खेलेका थिए । ब्राजिलले उक्त खेलमा ५-० को फराकिलो जित दर्ता गरेको थियो । त्यसयता भने पेरुले आफ्नो प्रदर्शन सुधार्दै नकआउट चरणका दुवै खेलमा जित दर्ता गरेको छ । ब्राजिलले भने आफ्नो लयलाई कायम राख्दै फाइनलमा स्थान पक्का गरेको हो ।

ब्राजिलले पछिल्लो ३ खेलमा जित दर्ता गर्दै १५ खेलमा अपराजित रहेको छ । ब्राजिलले पछिल्लो ७ खेलदेखि गोल खाएको छैन । ब्राजिलका लागि विलियनले यस खेल तिघ्राको चोटका कारण गुमाउनेछन् ।

पेरुले प्रतियोगितामा सुधारिएको प्रदर्शन गर्दै आएको छ । टोलीका अनुभवी विंगर जेफरसन फार्फान चोटका कारण खेल्नेमा शंका रहेको छ । उनले खेल्न नसकेको खण्डमा आन्द्रे क्यारिलो र एडिसन फ्लोरेसले दुइतर्फ विंगमा खेल्नेछन् ।
खेलको जानकारी:

खेल आज राती (सोमबार बिहान) नेपाली समय अनुसार १:४५ बजे हुनेछ ।