आज ब्राजिल र अर्जेन्टिना भिड्दै: खेलको सम्पूर्ण जानकारी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत मंगलबार अर्जेन्टिना र ब्राजिल अामनेसामने हुँदैछन् । विश्वकपमा खराब प्रदर्शन गरेका दुवै टोली पुन लय समात्ने लक्ष्यमा छन् ।

युरोपेली राष्ट्रहरु यूईएफए नेसन्स लिगमा व्यस्त रहँदा ब्राजिल र अर्जेन्टिना भने खाडी राष्ट्र साउदि अरेबियामा मैत्रीपूर्ण खेलमा होमिएको छ । सन् २०१७ मा यी दुवै टोली मेलबर्नमा भएको मैत्रीपूर्ण खेलमा भिडेका थिए ।

यसपटक साउदी अरेबियाले इराक, साउदी अरेबिया, ब्राजिल र अर्जेन्टिना संलग्न चार राष्ट्रको मैत्रीपूर्ण ‘सुपरक्लासिको’ प्रतियोगिता अायोजना गरेको छ । त्यसअन्तर्गत दुई टोली भिड्न लागेका हुन् ।

विश्वकपछि दुवै टोलीले चौथो मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । अर्जेन्टिनाले यसअघि ग्वाटेमाला र इराकलाई हराएको थियो भने कोलोम्बियासँग बराबरीमा रोकिएको थियो । ब्राजिलले भने संयुक्त राज्य अमेरिका, एल साल्भाडोर र साउदी अरेबियाविरुद्ध सहज जित दर्ता गरेको थियो ।

सन् २०१८ मा ब्राजिलले १३ खेलमध्य २ खेलमा मात्र जित दर्ता गर्न सकेको छैन । अर्जेन्टिनाले भने २०१८ मा खेलेका १० मध्य ५ खेलमा जित, ३ हार र २ खेलमा बराबरी खेलेको छ । ब्राजिल र अर्जेन्टिना १ सय ९ अौं खेलमा भिड्दै छन् ।

ब्राजिलले हालसम्म ४४ पटक जितेको छ भने अर्जेन्टिना ३९ पटक विजयी रहेको छ । पछिल्लो खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो ।

खेल : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

मिति : मंगलबार, १६ अक्टोबर

समय : नेपाली समय अनुसार रातको ११:४५ बजे

स्थान : किङ अब्दुल्लाह स्पोर्टस सिटी