आज बालोन डि’ओर अवार्डको घोषणा हुँदै, कति बजे? पूरा जानकारी

बालोन डि’ओर अवार्ड २०१९ को आज घोषणा हुँदैछ ।

अवार्ड संस्थापक ‘फ्रान्स म्यागजिन’ले पूर्वनिर्धारित कार्यक्रमअनुसार आज राति फ्रान्सको पेरिसस्थित एक थिएटरमा औपचारिक कार्यक्रम गरेर अवार्ड प्रदान गर्दैछ ।

यस वर्ष इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकलाई बालोन डि‘ओरका लागि प्रमुख दाबेदार मानिएको छ । गत वर्ष लिभरपुललाई युरोपियन च्याम्पियन्स लिग र यस वर्ष युइएफए सुपर कपको उपाधि जिताउनेक्रममा भान डाइकले व्यक्तिगत रूपमा शानदार प्रदर्शन गरेका थिए । त्यस्तै, घरेलु लिगमा लिभरपुल उपविजेता बन्दा पनि उनी सिजनकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

यता, स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीलाई दोस्रो दाबेदार मानिएको छ । गत सिजन बार्सिलोनालाई घरेलु लिग ला लिगा जिताउनेक्रममा मेस्सीले सबैखाले प्रतियोगिताबाट कूल ५१ गोल गर्दै २१ गोलमा असिस्ट गरेका थिए । उनी गत सिजन च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बन्दै ला लिगाको सर्वाधिक गोलकर्ताको हैसियतमा युरोपियन गोल्डेन बुटसमेत जितेका थिए ।

त्यस्तै, इटालियन युभेन्टसका क्रिस्यिानो रोनाल्डोलाई पनि यस अवार्डका लागि दाबेदार मानिएको छ । उनले गत सिजन नयाँ क्लबमा गएर पहिलो सिजन बिताउनेक्रममा दुई प्रमुख उपाधि जित्नै कूल २८ गोल गरेर १४ गोलका लागि असिस्ट गरेका थिए । यसै वर्ष उनले पोर्चुगलको टोलीबाट युइएफए नेसन्स लिगको उपाधिसमेत जितेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा दोस्रो महत्त्वपूर्ण उपाधि जित्दा रोनाल्डोले निर्णायक भूमिका निभाएका थिए । उनी गत सिजन सिरी ‘ए’को सिजनकै सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए ।

बालोन डि’ओर–२०१९ आज फ्रान्सको राजधानी पेरिस स्थिति डु चाटेलेट थिएटरमा एक सभाबीच हुँदैछ । अघिल्लो वर्ष पनि यसै स्थानमा अवार्ड घोषणा कार्यक्रम भएको थियो । अवार्ड कार्यक्रम नेपाली समय अनुसार राति (मंगलबार बिहान) १ः१५ बजेबाट सुरु हुनेछ ।