आज च्याम्पियन्स लिगमा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

च्याम्पियन्स लिग फुटबलमा आज जम्मा आठ खेल हुँदैछन् । समूह चरणअन्तर्गत आज चौथो राउन्डका आठ खेल हुन लागेका हुन् । आज हुने आठ खेलमध्ये केही ठूला टोलीका खेल पनि हुनेछन् । त्यसमा आज मुख्य केन्द्रमा चार खेल हुनेछन् । पहिलो खेलमा इंग्लिस क्लब लिभरपुल आफ्नो चौथो खेल रेड स्टार बेलग्रेडसँग आफ्नो घरमा खेल्दैछ ।

यस समूहमा लिभरपुल हाल तीन खेलमा दुई खेल जितेर ६ अंकसति समूह ‘सी’को शीर्ष स्थानमा छ । बेलग्रेड भने ३ खेलबाट मात्रै १ अंक लिएर सबैभन्दा पुछारमा छ ।
आज हुने अर्को महत्त्वपूर्ण खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमुन्ड खेल्दैछन् ।

च्याम्पियन्स लिगमा यो सिजन शतप्रतिशत जित निकालेको डर्टमुन्ड हाल तीन खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ भने तीन खेलमा दुई खेल जितेको एथ्लेटिको ६ अंकसहित दोस्रो स्थानमा छ ।

आजै हुने अर्को खेलमा इंग्लिस क्लब टोटनह्याम र नेदरल्यान्ड्सको क्लब पिएसभी इन्डोभिन भिड्दैछन् । टोटनह्याम प्रतियोगितामा हालसम्म जिविहीन छ । उसको खातामा मात्रै १ अंक छ । तसर्थ, आज आफ्नो घरमा उत्रिँदा टोटनह्याम पहिलो जितको खोजीमा हुनेछ । त्यत्ति मात्रै हैन, ऊ यो खेल जितेर अन्तिम १६ मा पुग्ने आशाको ढोका खुला गर्न चाहन्छ ।

आज हुने अर्को महत्त्वपूर्ण खेलमा इटालीको क्लब नापोली र फ्रेन्च क्लब पिएसजी भिड्दैछन् । नापोलीले पिएसजीलाई आफ्नो घरमा निम्त्याउँदा यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । यस सिजन च्याम्पियन्स लिगमा उच्च लयमा देखिएको नापोलीले यसअघि लिभरपुललाई हराएको थियो भने पिएसजीलाई उसकै घरमा बराबरीमा रोकेको थियो । आज आफ्नो घरमा उत्रिँदा नापोलीको दाउ पिएसजीलाई स्तब्ध बनाउनु हुनेछ ।

त्यस्तै, आज हुने सर्वाधिक चर्चाको खेलमा इटालीको क्लब इन्टर मिलान र स्पेनिस बार्सिलोना भिड्दैछन् । बार्सिलोना लिओनल मेस्सीको टोली आज मिलानको घरमा उत्रिँदा चौथो जितको खोजीमा हुनेछ ।
यता, मिलान भने यसअघि बार्सिलोनाको घरेलु मैदानमा व्यहोरेको हारको बदला लिन चाहन्छ । यसअघि बार्सिलोनाले आफ्नो घरमा मिलानमाथि २–० को जित निकालेको थियो ।
यस खेलमा बार्सिलोनाका कप्तान लिओनल मेस्सी चोटपछि मैदान फर्किनेछन् । उनलाई प्रारम्भिक टोलीमा राखिएकाले यस खेलमा खेल्ने सम्भावना रहेको छ ।

नेपालमा यी खेल सोनी नेटवर्कका च्यानलबाट लाइभ हेर्न सकिन्छ । धेरै खेल एकै समयमा भएका बेला सबै खेल भने प्रशारण हुने छैनन् ।

आज हुने सबै खेल नेपाली समयमा हेर्नुहोस:

Monaco 23 : 40 Club Brugge

Crvena Zvezda 23 : 40 Liverpool

Atlético Madrid 01 : 45 Borussia Dortmund

Tottenham Hotspur 01 : 45 PSV

Internazionale 01 : 45 Barcelona

Napoli 01 : 45 PSG

Porto 01 : 45 Lokomotiv Moskva

Schalke 04 01 : 45 Galatasaray