आज एट्लेटिको म्याड्रिड र बार्सिलोना भिड्दै, खेलको सम्पुर्ण जानकारी

स्पेनिस ला लिगाअन्तर्गत आइतबार बिहान १ः३० बजे हुने खेलमा एट्लेटिको म्याड्रिड र बार्सिलोनाबीच खेल हुँदै छ । म्याड्रिडमा हुने खेलमा एट्लेटिको बार्सिलोना विरुद्ध जितविहीन यात्रालाई तोड्ने कसरतमा लागेको छ । पछिल्ला १६ खेलमा सधैं बार्सिलानाले एट्लेटिकोलाई हराउँदै आएको छ । यसअघि सन् २०१० फेब्र्रुअरीमा भने एटलेटिको विजयी बनेको थियो ।

यता एट्लेटिको घरेलु मैदानमा भएको खेलमा उसको छुट्टै इतिहास छ । उसले घरेलु मैदानमा खेलेका खेलमा पछिल्ला १६ मध्ये १२ खेल आफ्नो पक्षमा पारेको छ । तर, अब भने बार्सिलाविरुद्धको खेलमा एट्लेटिकोका कप्तान डिएगो गोडिन हुने छैनन् । उनको अनुपस्थितिले टोलीलाई केही कठिनाइ भने पक्कै हुनेछ । उनको स्थानमा स्टेफान साभिच टोलीमा आउने चर्चा छ ।

यता इन्टर मिलानविरुद्धको खेलमा चोट खेप्न बाध्य बार्सिलोनाका मिडफिल्डर फिलिपो कोउटिन्हो यसै साता प्रशिक्षणमा फर्किएका छन् । तर, उक्त खेलमा उनी रहन्छन् या रहँदैनन् यसको टुंगो लागेको छैन । उनलाई टोलीमा फर्काइने भरमग्दुर प्रयास भने भइरहेको बार्सिलोनाले जनाएको छ ।

गत आइतबार रियल बेटिससँगको खेलमा मिड फिल्डर इभान राकटिकले रातो कार्ड पाएपछि उनी अबको खेलमा हुने छैनन् । उनको अनपस्थिति बार्सिलोनाका लागि महँगो पर्नेछ । तर, उनको सट्टा आर्टुरो भिडाललाई पहिलो रोजाइमा राखिएको छ ।

यसले बार्सिलोनालाई धेरै हदसम्म राहत मिल्नेछ । सुरुवाती रोजाइमा खेल्ने भएपछि भिडालले राकटिकको अनुपस्थितिमा आफ्नो प्रदर्शनी उच्च कायम गर्नु उनका लागि चुनौती हुनेछ । साथै आगामी खेलमा उनले बार्सिलोनामा आफ्नो उपस्थिति पनि महत्वपूर्ण छ है भन्ने बताउन सक्ने अवसर उनीमाथि छ ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा एक अंक मात्र कम छ एट्लेटिकोको । बार्सिलोनाविरुद्ध जित निकाल्न सके लामो समयपछि ऊ शीर्ष स्थानमा आउनेछ । पछिल्लो समय कमजोर टोलीसँग अंक बाँड्न र अंक गुमाउँदै आएका यी दुई टोलीका यस खेलमा जित्नु अत्यन्तै महत्वपूर्ण हुनेछ । जित्ने टोली सहजै शीर्ष स्थानमा रहनेछन् ।

त्यसो त सेभिल्ला र अलभेस पनि २३ अंकका साथ एट्लेटिकोलाई पछ्याउँदै छन् । गोल अन्तरका आधारमा एट्लेटिको अगाडि छ । तर अलभेसले भने एक खेल बढी खेलेको छ । लिगको सुरुवाती अवस्थामा औसत खेल खलेका बार्सलाेना र म्याड्रिड दुवै टोलीका लागि यो खेल गर या मरझैं छ ।