आजको जितमा नायक बनेका यी ३ खेलाडीहरु

श्रीलंका अभ्यास भ्रमणको अन्तिम खेलमा नेपालले कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटको अन्तरले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै कोल्ट्सले दिएको २१७ रनको लक्ष्य नेपालले ४२.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

नेपालको जितमा पारस खड्का र दिपेन्द्र सिंह ऐरीले अर्ध-शतकीय पारी खेले। यस्तै ज्ञानेन्द्र मल्लले समेत उत्कृस्ट ब्याटिंग गर्दै ४५ रनको व्यक्तिगत योगदान गरे। यसअघि कोल्ट्स क्रिकेट क्लबलाई सस्तैमा समेट्न सोमपाल कामीले उत्कृस्ट बलिंग गर्दै ३ विकेट चट्काएका थिए।

यी हुन् ३ खेलाडी जसको उत्कृस्ट प्रदर्शनमा नेपालले कोल्ट्स क्रिकेट क्लबलाई हराउन सफल भयो :

१) पारस खड्का :
कोल्ट्स बिरुद्धको खेलमा नेपाली टोलीलाई जित दर्ता गराउन नेपाली कप्तान पारस खड्काको भूमिका अहम रह्यो। कोल्ट्सले दिएको २१७ रनको लक्ष्य पिछा गर्ने क्रममा नेपालले ४२ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। त्यस समयमा ब्याटिंग गर्न आएका कप्तान खड्काले ज्ञानेन्द्र मल्लसंग तेस्रो विकेटका लागि ८८ रनको साझेदारी गर्दै इनिंगलाई अगि बढाएका थिए। अयाना सिरिवर्दनाको बलमा लक्षण जयसिंघेको हातबाट क्याच आउट हुनअघि पारसले ५७ बलमा ६ चौका र १ छक्का सहित ५८ रन जोडेका थिए।

२) दिपेन्द्र सिंह ऐरी :
दोस्रो अभ्यास खेलमा शतक बनाउंदै नेपालको जितका नायक बनेका दिपेन्द्रले तेस्रो अभ्यास खेलमा समेत अविजित अर्ध-शतक प्रहार गरे। पारस खड्का र ज्ञानेन्द्र मल्ललाई लागातर रुपमा गुमाएपछि समस्यामा परेको नेपालको ब्याटिंगलाई जिततर्फ डोर्याउन दिपेन्द्रले अविजित ५२ रन जोडे। ५३ बलको सामना गरेका उनले आफ्नो इनिंगमा ५ चौका र २ छक्का प्रहार गरेका थिए। आरिफ शेखसंग अविजित ६८ रनको साझेदारी गर्दै दिपेन्द्ले नेपालको जित सुनिस्चित गरे।

३) सोमपाल कामी :
दोस्रो अभ्यास खेलमा आराम दिइएका सोमपाल कामीको प्रदर्शन तेस्रो अभ्यास खेलमा कोल्ट्सलाई पराजित गर्न महत्वपूर्ण रह्यो। टस हारेर बलिंगको निम्तो पाएको नेपालका लागि सुरुवाती विकेट दिलाउने क्रममा सोमपालले ओपनर विश्व चतुरंगा र चौथो नम्बरमा ब्याटिंग गर्न मदवा फर्नान्डोलाई पभेलियन फ़र्काएका थिए। व्यक्तिगत तेस्रो विकेट लिनेक्रममा सोमपालले निरन्जन वान्नीओचोइलाई ललित राजबंशीको हातबाट क्याच आउट गराएका थिए। आफ्नो ९.५ ओभरको स्पेलमा सोमपालले १ मेडन सहित ३४ रन खर्चेर ३ विकेट चट्काउंदा कोल्ट्स मात्र २१६ रनमा रोकिएको थियो।