आगामी बर्षदेखि ‘नेपाल सुपर लिग’ हुने

एन्फाले आगामी बर्षदेखि नेपाल सुपर लिग फ्रेन्चाईज फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यो प्रतियोगिता सञ्चालनका लागि एन्फाले नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेण्टसँग मंगलबार सम्झौतापत्रमा समेत हस्ताक्षर गरेको छ ।

फुटबल खेलको दिगो विकास र विस्तार गर्नका लागि उपत्यका बाहिर पनि लिग प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने अवधारणा अनुरुप एन्फाले ऐतिहासिक रुपमा प्रदेश स्तरीय सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एन्फाका अनुसार देशमा रहेका सातै प्रदेशहरुमा त्यहाँको कर्पोरेट हाउसहरुको प्रत्यक्ष संलग्नतामा एक उत्कृष्ट प्रदेश टिम बनाउनुपर्नेछ । साथै रोचक कुरा त एन्फाले हाल जारी ए डिभिजन लिगमा सहभागी १४ टोलीहरुमध्येबाट उत्कृष्ट १४० खेलाडीहरुलाई छनौट गरी सात प्रदेशको टिममा बराबर सहभागि गराएर एक उत्कृष्ट टिम बनाउन सहयोग पुर्याउने छ ।

टिमको स्तर थप सुधार्न टोलीमा बिदेशी खेलाडीहरु पनि समावेश गर्न पाइने एन्फाले जनाएको छ । यद्यपि एक टिममा कति विदेशी खेलाडीहरु राख्न पाइने हो, त्यसबारे भने प्रतियोगिताको नियमावली अनुसार तोकिने बताइएको छ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा २१ म्याचहरु तथा चार प्लेअफ गरी कुल २५ खेलहरु हुनेछन् ।