आईसीसी विश्वकप क्रिकेट लिग २ का सबै खेल कान्तिपुरले प्रत्यक्ष प्रसारण गर्ने

कान्तिपुर टिभीले नेपालमा हुने आईसीसी विश्वकप क्रिकेट लिग २ का सबै खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । लिग २ मा नेपालले पहिलो पटक खेल्न लागेको हो ।

नेपालसहित अमेरिका, ओमानसम्मिलित त्रिकोणात्मक प्रतियोगिता माघ २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । यस शृंखलामा ६ खेल हुनेछ ।

नेपालले घरेलु भूमिमा पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाए पनि नेपालले घरेलु भूमिमा भने यो आधिकारिक खेल खेल्न पाएको थिएन ।

लिग २ का सबै खेल कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न बिहीबार नेपाल क्रिकेट संघ (क्यान) र कान्तिपुर मिडिया ग्रुप (केएमजी) बीच सम्झौता भएको छ । क्यानका महासचिव अशोकनाथ प्याकुर्‍याल र केएमजीका नायब महाप्रबन्धक महेश स्वाँरले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार कान्तिपुर टीभीले लिग २ का सबै ६ खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

त्यसमा नेपालले अमेरिका र ओमानसँग २–२ खेल खेल्नेछ । नेपालले माघ २२ मा ओमानसँग खेल्दै लिग २ को सुरु गर्नेछ । सन् २०२३ को विश्वकपको छनोट आधार रहेको ३ वर्षे यस प्रतियोगितामा अमेरिकाले ८ र ओमानले ६ खेल खेलिसकेका छन् । अमेरिका लिग २ मा ८ मध्ये ६ खेल जितेर शीर्षस्थानमा छ । ओमान ८ अंकसहित चौथो स्थानमा छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ