आइ लिग खेल्न साम्बा र अनिता भारत प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र मिडफिल्डर अनिता बस्नेतले सिजनको भारतीय महिला फुटबल लिग खेल्ने भएका छन्।

दुवैले लगातार दोस्रो सिजन आइ लिग खेल्न लागेका हुन्। अघिल्लो सिजन एउटै क्लबबाट खेलेका उनीहरूले यो सिजन भने फरक–फरक क्लबबाट खेल्ने भएका छन्।

यो सिजन अनिताले सेथु एफसी र साम्बाले गोकुलम केराला एफसीबाट खेल्नेछिन्। गत सिजन दुवैले सेथुबाट खेलेका थिए।

दुवै जनासँग एक महिनाको सम्झौता भएको अनिताले सेतोपाटीलाई बताइन्।

सम्झौता रकम भने उनले खुलाउन चाहिनन्। दुवै खेलाडी मंगलबार भारतको बेंग्लोर प्रस्थान गरेका छन्।

महिला लिग शुक्रबारदेखि सुर हुँदैछ। लिगमा १२ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। ६–६ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ।

साम्बा आबद्ध गोकुलम समूह बीमा छ। गत सिजनको विजेता सेथु भने समूह एमा छ। गोकुलम प्लेअफ जितेर लिगका लागि छनोट भएको हो।

समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन्। लिगको उपाधि भिडन्त फागुन पहिलो साता हुनेछ।

गत सिजन साम्बाले सेथुलाई उपाधि जिताउन उत्कृष्ट खेलेका थिइन्।

सेथुले समूह चरणमा ५ जितसहित लगातार ७ खेलमा विजयी हासिल गरेर लिगको उपाधि जितेको थियो। त्यसक्रममका सेथुले ४५ गोल गरेको थियो। ४५ मध्ये साम्बाले १५ गोलसहित तीन ह्याट्रिक गरेकी थिइन्।

तर अनिताले सवै खेलमा मौका पाउन सकिनन्। उनले बैंग्लोरविरुद्ध डेब्यू गर्दा १ गोल गरेकी थिइन्।

गत सिजन एक टिममा एक विदेशी खेलाडी मात्र खेल्न पाउने नियम भएकाले साम्बाले मौका पाउदा अनिताले भने मौका पाएकी थिइन्।

यससिजन भने फरक टिमबाट खेल्दा मौका पाउने अनिताले विश्वास गरेकी छिन्।

‘गत सिजन पाएका अवसरमा शतप्रतिशत खेलेको थिएँ,’ मंगलबार भारत प्रस्थान गर्नुअघि सेतोपाटीसँग भनिन्,’यो सिजन मौका पाए अझ राम्रो खेल्नेछु।’

गत सिजन देखाएको खेलले यससिजन पनि भारतीय टिमले आबद्ध गरेको उनले बताइन्।

@Setopati

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ