अलपत्र खेल मैदान

गौचरनमा परिणत टीकापुरको खेलमैदान। Annapurna Post

उचित संरक्षण हुन नसक्दा खेलकुदका लागि छुट्याइएको २२ बिघा क्षेत्रफलको रंगशाला गौचरनमा परिणत भएको छ। तत्कालीन टीकापुर विकास समितिले २०६६ सालमा नगर खेलकुद विकास समितिका नाममा २२ बिघा जग्गा उपलब्ध गराएको थियो।

टीकापुर नगरपालिका–५ को नुक्लिपुरमा रहेको रंगशालामा खेलकुदका लागि कुनै पूर्वाधार बनेको छैन। सुदूरपश्चिम क्षेत्रमै सुटिङ खेलका लागि प्रशिक्षण भवन निर्माण भए पनि उचित संरक्षण नहुँदा जीर्ण अवस्थामा छ। खेल मैदानबाहिर सामान्य तारबार गरिएको छ। दुईवटा गेट निर्माण भएको रंगशालामा अधिकांश तार चुँडालिएका छन्।

खेल मैदानभित्र स्थानीयवासीले माटो निकाल्ने गरेका कारण खाल्डाखुल्डी छन्। मैदानको बीचमा कतै पानी जमेको भेटिन्छ भने कतै गाईभैंसी चरिरहेका भेटिन्छन्। पर्याप्त मात्रामा जग्गा उपलब्ध भए पनि सम्बन्धित निकायले चासो नदिँदा रंगशालाका लागि छुट्याइएको जग्गा गौचरनमा परिणत भएको हो।

नगर खेलकुद विकास समितिको पहलमा राष्ट्रिय खेलकुद परिषद्ले २०६८ सालमा रंगशालामा स्पोटर््स एकेडेमी निर्माण गर्ने भन्दै नक्सासहितको गुरुयोजना निर्माण गरेको थियो। फुटबल, क्रिकेट, पौडी, पोलोलगायत इन्डोर खेलका लागि नक्सा तयार भए पनि खेलकुदको संरचना निर्माणका लागि बजेट नहुँदा खेलमैदान गौरचनमा परिणत भएको हो।

खेलकुदका लागि संरचना निर्माणमा बजेट नहुँदा खेलकुदको कुनै संरचना नबनेको टीकापुर नगरपालिकाले जनाएको छ । स्थानीय, प्रदेश र केन्द्रमध्ये कुनै सरकारले संरचना निर्माणमा लगानी नगरेको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले बताए। ‘हामीले गुरुयोजनासहित संघीय सरकार, खेलकुद मन्त्रालय, योजना आयोगमा प्रस्तावना पेस गरेका छौं’, नगर प्रमुख रावलले भने, ‘नक्सा मात्रै बनेको हो, त्यसमा केही त्रुटि छ। अब केन्द्रको बजेटमा डीपीआर तयार गर्ने योजना बनाएका छौं।’

डीपीआर निर्माण गरे खेलकुदका संरचना निर्माण गर्न सहज हुने रावलले बताए। खेलकुदका संरचना निर्माण नहुँदासम्म खेलमैदान गौचरनमै सीमित हुने स्थानीयवासी बताउँछन्। स्थानीय निकायले सामान्य रूपमा बन्न सक्ने संरचना निर्माणमा समेत ध्यान दिन नसकेको खेलप्रेमी तुला साहुले बताए। टीकापुरमा खेलप्रति स्थानीयवासीको निकै चासो भए पनि संरचना निर्माणमा सम्बन्धित निकायले ध्यान नदिएको उनले गुनासो गरे।

‘खेलमैदान निर्माणका लागि पर्याप्त जग्गा छ। हामीसँग खेलाडी पनि छन् तर सम्बन्धित निकायले ध्यान दिन नसक्दा खेलमैदान गौचरन बन्ने अवस्थामा छ’, साहुले भने, ‘स्थानीय तहले समेत खेलमैदानमा केही संरचना बनाउन आवश्यक छ।’ खेलकुदका लागि पर्याप्त जग्गा नगर खेलकुद विकास समितिका नाममा निःशुल्क प्राप्त भए पनि थप काम हुन नसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण थापाले बताए।

थापाका अनुसार नेपाल फुटबल संघ एन्फाले उक्त जग्गा फुटबल प्रशिक्षण केन्द्र स्थापनाका लागि भाडामा माग गरेको थियो। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले स्थलगत अवलोकन गरी प्रदेशस्तरीय फुटबल प्रशिक्षण केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन माग गरेका थिए। एन्फाको उक्त प्रस्ताव स्थानीय तह र प्रदेश सरकारले अस्वीकार गरेको थापाले बताए।

@Annapurna Post