अर्जेन्टिनियन स्ट्राइकर भित्र्याउन टोटनह्याम नजिक

एजेन्सी, इङलिस क्लब टोटनह्याम इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर लौटरो मार्टिनेज भित्र्याउन नजिक रहेका छन्। रिपोर्टका अनुसार अर्जेन्टिनियन स्ट्राइकर मार्टिनेज ६० मिलियन पाउन्ड भन्दा उच्च मुल्यमा टोटनह्याममा अनुबन्ध हुने सम्भावना प्रबल छ।

रिपोर्टका अनुसार टोटनह्यामले उनलाई आफ्ना स्टार स्ट्राइकर ह्यारी केनलाई प्रतिस्थापन गर्नका निम्ति भित्र्याउन लागेका भने होइनन्। उनलाई भित्र्याउने दौडमा टोटनह्यामकै छिमेकी क्लब आर्सनल पनि रहेको भनिएको थियो। इन्टर मिलानका अर्का फर्वार्ड रोमेलु लुकाकुले पनि क्लब छाड्ने लगभग पक्का छ।
२३ वर्षका अर्जेन्टिनियन स्ट्राइकर मार्टिनेज २०२३ सम्म इन्टर मिलानमा अनुबन्धित छन्। उनी २०१८ मा करिब २२.७ मिलियन युरोमा इन्टर मिलानमा अनुबन्धित भएका थिए। उनले इन्टर मिलानका लागि १३२ खेल खेल्नुका साथै ४९ गोल पनि गरि सकेका छन्।