ढोहा । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स खेल्दै छन् । यी दुई टोलीबीचको उपाधि भिडन्त भोलि (आइतबार) राति ८ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले सेमिफाइनलमा गत संस्करण उपविजेता क्रोएसिया तथा फ्रान्सले पहिलोपटक सेमिफाइनल खेलेको मोरक्कोलाई २–० ले हराएको थियो ।
अब फाइनलमा अर्जेन्टिनालाई हराएमा फान्स ब्राजिलपछि लगातार दुई विश्वकप उपाधि जित्ने राष्ट्र बन्नेछ । फ्रान्सले गत संस्करणमा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो । त्यसअघि उसले पहिलोपटक १९९८ को विश्वकप जितेको थियो । तेस्रोपटक विश्वकप उपाधिको खोजीमा रहेको अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको थियो ।
त्यसयता ऊ दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्म पुग्यो । तर, अर्जेन्टिना उपाधि जित्न भने सकेको छैन । जारी विश्वकपको समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोर्यो । यद्यपि उसले शानदार कमब्याक गर्न सफल भयो ।
अर्जेन्टिनाले समूह चरणको दोस्रो खेलमा पोल्याण्ड र तेस्रो खेलमा मेक्सिकोलाई समान २–० गोल अन्तरले हरायो । ऊ समूह विजेताको रूपमा अन्तिम १६ प्रवेश गरेको थियो । अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ ले हराउँदै क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले अन्तिम ८ मा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हरायो ।
त्यसपछि सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिनाले ८ वर्षपछि फाइनल यात्रा तय गर्यो । त्यस्तै, समूह ‘डी’ को फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ ले हराउँदै उत्कृष्ट सुरुवात गर्यो । दोस्रो खेलमा डेनमार्कलाई हराएको फ्रान्सले समूह चरणको अन्तिम खेलमा भने ट्युनिसियासँग १–० को अप्रत्यासित हारको सामना गर्न पुग्यो ।
समूह विजेताको रूपमा नकआउट चरण पुगेको फ्रान्सले अन्तिम १६ मा पोल्याण्ड र क्वार्टरफाइनलमा इंल्याण्डलाई हराउँदै सेमिफाइनलको यात्रा गरेको थियो । सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलको टिकट काट्न सफल भयो ।