अर्जेन्टिनाको टोलीमा परेनन् मेस्सी

अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कलोनी मेसीले राष्ट्रिय टोलीका लागि अब खेल्ने वा नखेल्ने बारे जानकारी नरहेको बताएका छन् । आगामी महिना हुने ग्वाटेमाला र कोलम्बिया विरुद्धको मैत्रीपूर्ण खेलको लागि घोषित टोलीमा मेसीको नाम रहेको छैन ।

बार्सिलोनाका स्टार स्ट्राइकरले सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीविरुद्धको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर सन् २०१८ को विश्वकपका लागि भने उनी आफ्नो निर्णय उल्ट्याउँदै अर्जेन्टिनाको जर्सीमा फर्किएका थिए । रुसमा सम्पन्न विश्वकपमा प्रदर्शन गरेको खराब खेलपछि टोलीका मुख्य प्रशिक्षक जोर्गे साम्पाओलीलाई समेत टोलीले निस्कासन गरेको थियो ।

स्कलोनीले आफुले टोली छनौट गर्नु अघि मेसीसँग कुरा गरेको र उनी अर्जेन्टिनाबाट खेल्ने वा नखेल्नेमा निश्चित नरहेको बताएका छन्। उनले भने, ” मैले मेसीसँग कुरा गरेको छु र सो कुराकानी पछी नै उनलाई टोलीमा नराखिएको हो । ईमान्दार भएर भन्नु पर्दा हामीले भविष्यको कुरा गरेनौं ।”