अर्को कुन क्लब बाट खेल्ने छन् एमबाप्पे?

पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेको पछिल्लो भनाईले रियल म्याड्रिडको योजनामा चिसो पानी खनिएको छ ।

एमबाप्पले अर्को एक सिजन पिएसजीमै रहने संकेत गरेपछि उनलाई भित्राउने रियलको योजना तत्कालका लागि पुरा नहुने भएको छ । जिनेदिन जिदानको रियल यो सिजन विश्व स्तरीय खेलाडी भित्राउने दाउमा छ । पछिल्लो सिजन खराब प्रदर्शन गरेका कारण पनि रियल टोलीलाई नयाँ बनायने तयारीमा जुटेको छ । जसमा एमबाप्पले र नेयमारलाई रियलले भित्राउने लक्षित गरेको चर्चा चलेको छ ।

नेयमारले पछि पछिल्लो साता रियल जान नचाहेको प्रष्ट पारेका थिए । अहिले एमबाप्पले पनि सोहि आशय प्रकट गरेका छन् । दुवै खेलाडी पिएसजी छाड्ने पक्षमा तत्कालका लागि देखिएका छैनन् । ‘रियलमा सरुवा हुने विषयमा कुरा गर्ने समय यो होइन,’ अन्तर्राष्ट्रिय जिम्मेवारीका दौरान फ्रान्सेली स्टारले गत साता भने, यो विषयमा मलाई धेरै पल्ट सोधिएको छ । तर मैले भनेको छु म अर्को सिजन सम्म पिएसजीमा छु । तपाईहरु (सञ्चारमाध्यम) जहिले यहि सोध्नु हुन्छ । तर यो त्यो समय होइन । ’

रियल यो सिजन सरुवा बजारमा सक्रिय छ । इडन हाजार्ड, लुका जोभिच, इडर मिलिटाओ, रोड्रीगो र मेन्डीलाई भित्र्याउन रियलले ३ सय २० मिलियन पाउण्ड खर्च गरिसकेको छ ।