अमेरिकन लिगमा नेपाली ठिटो

तीन वर्षयता अमेरिकी फुटबलको चौथो डिभिजन लिग खेलिरहेका निर्देश कार्कीको सानैदेखिको सपना नेपाली राष्ट्रिय टिमबाट खेल्ने हो । भन्छन्, ‘मौका पाएँ भने नेपालको लिग खेल्न आउनेछु, जहाँबाट अघि बढ्नेछु । त्यही मौका पर्खिरहेको छु ।’

पुर्ख्यौली घर जाजरकोट । हुर्किए राजधानी काठमाडौंमा । त्रियोग हाइस्कुलमा १२ कक्षा सकेपछि लागे अमेरिका । सेन्ट क्लाउड स्टेट युनिभर्सिटी, मिनेसोटामा चार वर्षे इन्फर्मेसन सिस्टममा स्नातक पूरा गर्न लागेका निर्देश कार्की फुटबलमा पनि उत्तिकै व्यस्त छन् । उनी तीन वर्षयता अमेरिकी फुटबलको चौथो डिभिजन लिग खेलिरहेका छन् ।

डेविड बेकह्यामको टिम इन्टर मियामीले खेल्ने मेजर लिग सकर (एमएलएस) अमेरिकाको सबैभन्दा माथिल्लो श्रेणीको लिग हो । त्यसपछि यूसीएल च्याम्पियनसिप । तेस्रो डिभिजनमा पर्छ यूसीएल लिग वान र एनआईएसए । यूएसएल लिग टू, यूपीएल र एनपीएसएल अमेरिकी फुटबल सिस्टममा चौथो डिभिजनमा पर्छन् । युनाइटेड प्रिमियर सकर लिग (यूपीएसएल) को ग्रेनाइट सिटी फुटबल क्लबबाट खेलिरहेका छन्, निर्देश ।

उनी एट्याकिङ मिडफिल्डर हुन् । उनको टिम ग्रेनाइट सिटी मिनेसोटाको मिडवेस्ट कन्फ्रेन्समा गत सिजन पाँचौं भएको थियो । ‘होम एन्ड अवेका आधारमा १० खेल खेलेका थियौं,’ निर्देशले कान्तिपुरसँग भने, ‘नतिजा नराम्रो आयो । त्यसैले त्यो टिममा व्यापक परिवर्तन गरी यो सिजनको टिम बनाइयो ।’ गत सिजनको टिमबाट दुई खेलाडीले मात्रै निरन्तरता पाउँदा निर्देश ग्रेनाइट सिटीको पहिलो रोजाइमा रहे । गत सिजनपछि तेस्रो डिभिजनको क्लब मिनेसोटा टुइन स्टार्स बिघटन भएको थियो । त्यसैका कप्तान करिम पिटरसन दरबाकीलाई प्रशिक्षक बनाएर ग्रेनाइट सिटीले १८ खेलाडी भित्र्यायो । त्यसले ग्रेनाइटलाई बलियो बनाइदियो ।

‘कन्फ्रेन्स जित्ने हाम्रो चान्स धेरै थियो । सबैले हामीले नै उपाधि जित्छ भन्थे । तर, कोभिड–१९ ले सिजन प्रभावित भएपछि लिगको सट्टा अर्कै प्रतियोगिता खेल्नुपर्‍यो,’ लिगकम नकआउटका आधारमा सञ्चालित मिनेसोटा गोल्डकपमा आफ्नो टिमको प्रदर्शनबारे निर्देशले भने, ‘लिगमा एउटै खेल हारेको थिएन । हामीले लिगमा भ्लोरा एफसीलाई २–१ ले हराएका थियौं । त्यही टिमसँग सेमिफाइनललाई हामी भाग्यमानी रहेनौं र ४–३ ले चुक्यौं ।’ फाइनल मेपल ग्रोभले जित्यो, जसलाई निर्देशको टिमले लिगमा ५–० ले पराजित गरेको थियो ।

सेन्ट्रल, इस्ट र वेस्टबाट छनोट भएका टिमहरूले कन्फ्रेन्समा प्रतिस्पर्धा गर्छन् । कन्फ्रेन्सको विजेता टिमले रिजनल च्याम्पियनसिप खेल्छ । रिजनलका विजेताहरूले नेसनल च्याम्पियनसिप खेल्छन् । ‘तर, यहाँ कुनै डिभिजनको विजेता क्लब सिधै माथिल्लो डिभिजनमा उक्लिने व्यवस्था छैन । फुटबल संघले तोकेको मापदण्ड पूरा गरेपछि मात्रै क्लबहरूले व्यावसायिक लिग खेल्ने अवसर पाउँछन्,’ २३ वर्षीय उनले भने । उनी खेल्ने लिग (यूपीएसएल) लाई अर्धव्यावसायिक मानिन्छ । अमेरिकी फुटबलमा तेस्रो डिभिजनसम्मको लिगलाई व्यावसायिक मानिन्छ ।

‘यूपीएसएलमा कुनै टिम धेरै राम्रा छन् तर सबै क्लब त्यस्तो होइन । यूपीएसएल नेपालकै ‘ए’ डिभिजन स्तरको हो जस्तो लाग्छ,’ ग्रेनाइट सिटीमा यो सिजन ९ खेलमा २ गोल र ४ एसिस्ट गरेका निर्देशले सुनाए, ‘एनपीएसएल (चौथो डिभिजनकै अर्को लिग) भने धेरै कडा छ । व्यावसायिक लिग यूपीएसएल (च्याम्पियनसिप र लिग वान) खेलेका खेलाडीहरू पनि छन् ।’ सामान्यतः यूपीएसएलको सिजन मे महिनामा सुरु गर्नेछ । यसपालि भने पूरा सिजनलाई कोभिड–१९ ले बिथोल्यो ।

Source: Ekantipur