‘अब रोनाल्डो र मेस्सीबीचको प्रतिस्पर्धा सकियो’ – भन्छन् प्रशिक्षक भालभर्डे

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डेले विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीबीचको व्यक्तिगत प्रतिस्पर्धा अब सकिएको बताएका छन् । उनले लामो समयदेखि रहँदै आएको पोर्चुगिज रोनाल्डो र अर्जेन्टिनी मेस्सीको आपसी प्रतिद्वन्द्वीता अब नरहने बताएका हुन् ।
बार्सिलोनाको अफिसियल वेबसाइटसँग कुरा गर्दै भाल्भर्डेले रोनाल्डो रियल छाडेर युभेन्टस गएसँगै मेस्सीसँग उनको प्रतिस्पर्धा पहिलेकै जस्तो नरहने बताए । ‘रोनाल्डो १ सय १२ मिलियनमा इटाली सरेसँगै मेस्सीसँग उनको प्रतिस्पर्धा अब सकियो,’ उनले भने ।

भाल्भर्डेले मेस्सी र रोनाल्डो दुवै यो समयको फुटबलका ठूला स्टार बताउँदै दशकसम्म दुई स्टारबीचको प्रतिस्प्र्धाले विश्वफुटबल गर्माएको बताए । ‘जब मेस्सी र रोनाल्डोबीच चर्चा र प्रतिस्पर्धाको हिसाब हुन्छ, म त्यसलाई अन्यथा ठान्दिनँ । किनभने, पछिल्लो दशक उनीहरूले फुटबलमा राज गरेका छन्,’ भाल्भर्डेले भने, ‘दुवै खेलाडी विशेष हुन् ।’

रोनाल्डो स्न २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडमा अनुबन्ध भएपछि मेस्सीसँग उनको प्रतिस्पर्धा सुरु भएको थियो । पछिल्लो दशक मेस्सी र रोनाल्डोबीच मैदानमा मात्रै नभएर उनीहरूले पाउने व्यक्तिगत अवार्ड, रेकर्डदेखि लिएर तलब–भत्ताको आकारसम्म पनि तुलना हुँदै आएको थियो ।

बार्सिलोनाको एकेडेमीबाट आएका मेस्सी र ९ वर्ष रियलमा बिताएका रोनाल्डो र मेस्सीले समान ५–५ पटक बालोन डि‘ओर अवार्ड जितेका छन् । यी दुई खेलाडी स्पेनबाट खेल्न थोलको ९ वर्षको बीचमा मेस्सीले घरेलु लिग ला लिगा ६ पटक जितेका छन् भने रोनाल्डोले उक्त अवार्ड २ पटक जिते ।
त्यस्तै, सोही अवधिमा रानाल्डोले युरोपको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग ४ पटक जित्दा मेस्सीले भने मात्रै २ पटक जितेका छन् ।