अफगानिस्तान सबै ९ खेल पराजित, विश्वकपमा दुखद अन्तय

एकदिवसीय आइसीसी विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले अन्तिम खेल जित्दै सुखद अन्त्य गर्दा अफगानिस्तानले भने खेलेको सबै ९ खेल हारेको छ।

बिहीवार बेलुका सम्पन्न खेलमा वेष्ट इन्डिजसँग २३ रनले पराजित भएपछि अफगानिस्तानले यो विश्वकपमा कुनै खेल जित्न सकेन्।

वेष्ट इन्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले पूरै ५० ओभर खेल्दै सबै विकेट गुमाएर २८८ रन मात्र बनाउन सक्यो।

अफगानिस्तानका लागि युवा ब्याट्सम्यान इक्रम अलिखिलले सर्वाधिक ८६ रन बनाएपनि जितका लागि पर्याप्त भएन। इक्रम र रहमत शाहले दोस्रो विकेटका लागि शतकिय साझेदारी गरेका थिए। तर अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा अफगानिस्तान पराजित भयो। रहमत शाहले ६२, असगर अफगानले ४० र नजिवुल्लाह जद्रानले ३१ रन बनाए।

वेष्ट इन्डिजका लागि कार्लोस ब्रेथबेइटले सर्वाधिक ४ विकेट लिए। केमर रोचले १० ओभरमा २ ओभर मेडन राख्दै ३७ रन खर्चेर ३ विकेट लिए। क्रिस गेलको नाममा १ विकेट रह्‍यो।

लिड्समा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको थियो। वेष्ट इन्डिजका लागि एभिन लेविस, शाई होप र निकोलस पुरनले अर्धशतक प्रहार गरे। शाई होपले सर्वाधिक ७७ रन बनाउँदा लेविस र पुरनले ५८-५८ रन बनाए।कप्तान ज्यासन होल्डरले ४५ र शिमरोन हेतमारले ३९ रन जोडे।