अफगानिस्तानविरुद्ध नेपालको रोमांचक जित

नेपाल भलिबल टिमले अफगानिस्तानविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा जित हात पारेको छ।

लगनखेलस्थित सैनिक तालिम केन्द्रमा बिहिबार दिउँसो भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा हरायो।सुरुमा २ सेट हारेको नेपालले उत्कृष्ट कमबैक गरेको थियो।

खेलको पहिलो र दोस्रो सेट अफगानिस्तानले २५-२२, २५-१५ ले जित्यो । तेस्रो सेटमा नेपाल खेलमा फर्किए र २६-२४ को जित निकाल्यो। चौथो सेटमा पनि नेपालले २६-२४ कै नतिजा निकाल्यो। अन्तिम तथा निर्णायक सेटमा नेपाल १५-१२ ले जित्दै खेल जिते।

नेपालले बुधबार भएको खेलमा पनि ३-२ सेटकै जित निकालेको थियो। नेपालले सेन्ट्रल जोनको तयारीका लागि अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको हो।

यो प्रतियोगिता भदौ २ देखि ७ गतेसम्म नेपालमै हुनेछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तान टिम रहेको छ।