अपमान सहन नसकेर मनाङ छाडे – अनिल गुरुङ

नेपाली फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले क्लबका केहि पदाधिकारीको अपमान सहन नसकेर लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँगको लामो यात्राको अन्त्य गर्नुपरेको बताएका छन् । पटक पटक गरि झन्डै एक दशकको लामो सहकार्य बुधबारबाट औपचारिक रुपमा अन्त्य गरेका अनिल बिहीबार अर्को चर्चित क्लब रुस्लान थ्री स्टार क्लबमा आबद्ध भएका थिए । थ्री स्टारमा उनी १३ वर्षपछि फर्केका हुन् ।

सन् २०१० मा दोस्रो पटक मनाङमा आबद्ध भएपनि खेल जीवनको अन्त्य त्यहि क्लबबाट गर्ने घोषणा गरेका थिए । तर, पछिल्लो समय क्लबका सिमित पदाधिकारीले गरेको अपमानका कारण त्यहाँ बस्नु ठिक नलागेको बताएका छन् । उनले भनेका छन्–‘म सानै देखि मनाङको समर्थक रहेको थिएँ ।

पछि त्यहि क्लबमा खेल्नु मेरो लागि सपना पुरा भए बराबर हो,’ उनले भने, ‘मैले त्यहाँ रहँदा सबै उपाधि जितेपछि खुसी पनि लागेको छ । तर , पछिल्लो समय केहि पदाधिकारीले गरेको व्यवहार र अपमानका कारण त्यहाँ बस्नु उचित लागेन ।’ उनले दोस्रो पटक थ्री स्टारसँग जोडिन पाएको खुसी व्यक्त गरे ।

‘थ्री स्टारको सम्मान प्रति आभार व्यक्त गर्दछु । मलाई थ्री स्टारले पहिला देखि नै प्रस्ताव गरेको थियो । तर म त्यति बेला आउन सकिन,’ उनले भने, ‘अहिले पनि मलाई क्लबले बोलायो । मलाई साह्रै खुसी लागेको छ । म आफ्नो तर्फबाट क्लबलाई सफल बनाउन प्रयास गर्नेछु ।’

– HamroKhelkud.com